घलेगाउँको हिउँमा पर्यटक मख्ख [फोटोफिचर]

शब्द/तस्बिर : आश गुरुङ

(घलेगाउँ, लमजुङ) — स्मार्ट भिलेजको रुपमा अघि सारिएको पर्यटकीय घलेगाउँ । शुक्रबार राति र शनिबार बिहान परेको हिमपातले गाउँ पुरै सेताम्ये थियो । बेंसीसहरबाट जीप र मोटरसाइकलको हुल पर्यटक बोक्दै घलेगाउँ पुग्यो । स्थानीयसँगै घलेगाउँको हिउँले पर्यटकको स्वागत गरिरहेको थियो । शनिबार साँझसम्म घलेगाउँमा हिउँ सेताम्ये थियो ।

बिहानदेखि अबेरसम्म घलेगाउँ जानेको लर्को लागेको थियो । जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैसरकारी संस्थाका प्रमुखलगायत विभिन्न पेसामा आवद्ध घलेगाउँ पुगे । उनीहरुले दिनभरी हिउँ खेले । बालबालिकादेखि वृद्धवृद्धासम्मले हिउँ खेलेर आनन्द लिए ।

करिब १ दशकपछिको हिमपातले स्थानीयको दैनिक प्रभावित भएको थियो नै । पर्यटक ओइरिएपछि घलेगाउँवासी स्वागतमा आतुर थिए । गुरुङ फिल्मका कलाकार खेमराज घले उनका साथीभाइलाई लिएर घलेगाउँ पुगे । ‘घलेगाउँमा पहिलोपटक हिउँ खेल्दैछु’ उनले भने । उनले घलेगाउँबाटै फोटो र भिडियो साथीभाइलाई पठाए । साथीभाइ साँझसम्म घलेगाउँ आइपुगे । कलाकार भारती घलेले गाउँलाई फन्को मारेर फोटो खिचिन् । फेसबुकलगायत सामाजिक सञ्जालमा अपलोड गरिन् । ‘साँच्चिकै स्वर्गजस्तै हो घलेगाउँ’ घलेगाउँको पर्यटन प्रवर्द्धनका लागि तयार पारिएको गीत उनले सम्झिइन् ।

बेंसीसहर नगरपालिका ७, हाइस्कुलचोकका बलराम खत्रीले परिवारसँग घलेगाउँ आएको बताए । साथमा उनका टोलका सबै घलेगाउँ आएका थिए । घलेगाउँलाई हिउँले घेरिएको देखेर उनी मख्ख परे । भारतीय सेनामा रहँदा उनले भारतका विभिन्न ठाउँको हिउँमा राइफल लिएर हिँडे । घलेगाउँमा हिउँ परेको सुनेपछि उनी हिउँ खेल्न आए । ‘पहिले ड्युटीको चिन्ता हुन्थ्यो । अहिले त केहीको छैन । मज्जैले हिउँ खेलियो’ उनले भने ।

पर्यटकसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङअन्तर्गतको बेंसीसहरस्थित पर्यटक सूचना केन्द्र तथा प्रवेश शुल्क काउन्टरका पर्यटन सहायक बालकृष्ण घलेले घलेगाउँ पुगे । एकैदिन १ हजार ५ सय पर्यटक घलेगाउँ आएको उनले बताए । साथीसंगीसंगै उनले हिउँ खेले । ‘हिउँ खेल्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो । यो मौका सित्तिमित्ति आउँदैन’ उनले भने । उनका अनुसार पर्यटकीय गाउँहरु घलेगाउँ, सिउरुङ, घनपोखरा लगायत ठाउँमा एक दशकपछि हिमपात भयो । स्थानीय जनजीवन कष्टकर बन्यो । तर, पर्यटकले निकै आनन्द लिए ।

क्व्होलासोंथर गाउँपालिका ४, भुजुङमा करिब २० जर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातपछि आन्तरिक पर्यटक बढेको उनीहरुको भनाइ छ । वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार यसअघि करिब १ हजार ७ सय मिटरको पिढिन्हेंसम्म हिमपात हुन्थ्यो । अहिले १ हजार ६ सय मिटरको गाउँमै बाक्लो हिमपात भयो । हिमपातपछि गाउँका जग्गाजमीन सिञ्चित भएको र खेतीबाली राम्रो हुने उनले बताए ।

प्रकाशित : माघ २६, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्