कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

टुँडिखेलमा तामाङको सोनाम ल्होछार [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — देश-विदेशमा रहेका तामाङहरुले मंगलबार सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङको संयोजकत्वमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

बिहान ११ बजेपछि शान्तिवाटिका रत्नपार्कबाट झाँकिसहित निस्केको र्‍याली टुँडिखेलमा जम्मा भएका छन् । समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी हुने ल्होछार मूल समारोह समितिले जनाए पनि उनी उपस्थित छैनन् ।

टुँडिखेलको ल्होछार कार्यक्रम उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् । यस्तै उपत्यका बाहिरका नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, रसुवालगायद देशका अधिकांश जिल्लामा रहेका तामाङहरुले ल्होछार मनाइएका छन् । त्यस्तै विदेशमा रहेका तामाङहरुले पनि ल्होछार मनाउने गर्छन् ।

ल्होछारको अवसरमा आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा पनि विविध कार्यक्रम गरी मनाउने चलन छ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्षलाई बिदाई गरी सुँगुर वर्षलाई स्वागत गरिएको छ । यो २८५५औँ सोनाम ल्होछार हो ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो । नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ ।


प्रकाशित : माघ २२, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्