१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

धादिङमा सोनाम ल्होछारको रौनक [फोटोफिचर]

तस्बिर : हरिहरसिंह राठौर

धादिङ — धादिङका तामाङ समुदायले आज नयाँ वर्षको रूपमा सोनाम ल्होछार पर्व धूमधामका साथ मनाएका छन् । साढे ३ लाख जनसङ्ख्या रहेको धादिङमा २४ प्रतिशत जनसङ्ख्या तामाङहरूको छ ।

उत्तरीवस्तीहरु तामाङहरूको बाहुल्यता छ । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रूपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन मनाइन्छ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औँ सोनाम ल्होछार हो । ल्हो अर्थात् वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणाली अनुसार गणना गरिने प्राचीन पद्धति हो ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रूपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

ल्होछारको अवसरमा आज धादिडवेंसीको टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइयो । नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस्, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइदैछ ।


प्रकाशित : माघ २२, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्