१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सदरखोरदेखि संसद सचिवालयसम्म रेशम चौधरीको यात्रा [फोटोफिचर]

मकर श्रेष्ठ

काठमाडौँ — डिल्लीबजार सदरखोरबाट बा १ झ ७७०७ नम्बरको टाटा मोबाइलको बीच सिटमा राखेर ल्याइएको थियो, रेशम चौधरीलाई । गलाभरी खादासहित पूर्वेली ढाकाको कुर्था, टोपी, गलबन्दी र सेतो सुरुवाल लगाएर संसद् भवन प्रवेश गरेका थिए उनी । प्रहरीको गाडीमा अघि-अघि उनी थिए भने उनका श्रीमती र छोरा पछि पछि अर्को गाडीमा ।

संसद्को कृषि समितिको हलमा शपथ कार्यक्रम राखिएको थियो । शपथभन्दा उनी २० मिनेटअघि पुगेका थिए । उनी भित्र छिरे पनि उनका परिवारलाई भने परिचय पत्र नभएकोले भित्र छिर्न केही समय लाग्यो । २ बजेर ५० मिनेटतिर महन्थ ठाकुर, राजेन्द्र महतोलगायत राजपाका अन्य सांसदहरु संसद् भवन बानेश्वरबाट बैठक सकाएर सीधै शपथ कार्यक्रममा पुगेका थिए । त्यसपछि उनका श्रीमती र छोरा शपथ कक्षमा छिरे । उनले छोरालाई अंगालो हाल्दै चुम्बन गरे, टाउको सुमसुमाए ।

३ बजेर २ मिनेटमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ गराए । उनले थारु भाषामै शपथ लिए । शपथ गराइरहँदा उनकी श्रीमती रन्जिता श्रेष्ठ उभिएर हेरिरहेकी थिइन् । जब शपथ सकिएपछि महराले माला लगाइदिए । राजपाका नेताहरुले माला, खादा र टीका लाइदिए, एकापसमा खुसी साटासाट गरे । नेताहरुबीच तस्बिर खिचे । चौधरीले सञ्चारकर्मीसँग छोटो धारणा राख्दै भने, 'न्यायालयले पनि मलाई न्याय दिनेछ ।' शपथपछि चौधरीलाई प्रहरीकै गाडीमा डिल्लीबजार कारागार लगिएको छ ।

तस्बिरहरु: इलिट जोशी, बिजु महर्जन/कान्तिपुर


प्रकाशित : पुस १९, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्