कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुरू भयो धरहरा बनाउन

सुरविन्द्रकुमार पुन

काठमाडौँ — धरहरा निर्माणको ठेक्का जिआइइटीसी/रमन जेभीले पाएसँगै निर्माण कार्यको थालनी गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आइतबार खोलेको आर्थिक प्रस्तावमा जेभी कम्पनीले सबै भन्दा कम रकम कवोलेको थियो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

अहिले धरहरा निर्माणको क्रममा धरहरा क्षेत्रलाई घेराबन्दी गरिएको छ । धरहरा क्षेत्र निर्माण क्रममा प्रयोग हुने सामाग्री जम्मा पार्न टुँडिखेलको दक्षिणी भागमा जस्तापाताले घेराबन्दी गरिएको छ । पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो । पाँच वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्ने कार्य पटक पटक स्थागित हुँदै आएको थियो ।

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने कार्य स्थगित हुने गरेको थियो । प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक/लामा जेभी, सिआर ५ सिइसी/स्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी, जिआइइटीसी/रमन जेभी, सिआइसिओ/कालिका/रसुवा जेभी छन् । जेसिजिआइसिसी/आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको थियो ।

भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो ।नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने छ । अब बन्ने धरहरामा लिफ्ट र भर्‍याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ ।


प्रकाशित : कार्तिक २९, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्