कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मन्दिरमा साम्प्रदायिक सद्भाव

शब्द/तस्बिर : जितेन्द्र साह

मोरङ — बाहुनक्षेत्री, मधेसी, दलित, जनजाति एवं आदिवासी मिलेर पूजा गर्छन् । सामूहिक भोज गर्छन् । मोरङको पूर्वसदरमुकाम रंगेली प्रवेश गरेलगतै आउने चिस्याङ खोला छेउको संसारी माता मन्दिर परिसरमा साम्प्रदायिक सद्भाव झल्काउने यी दृश्यहरु देख्छौं ।

वरिपरि झाँगिएको बूढो रुखको जरोमा माताको प्रतिमा छ । जंगल छेउको यो स्थानको संरक्षणमा स्थानीय पहाडी एवं मधेसी एकजुट भएर लागिरहेका छन् । एक दशकदेखि धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्यटनको रुपमा विकसित भइरहेको यो पुजनीय स्थल कति पुरानो हो भन्ने कसैलाई थाहा छैन ।

उक्त रुख एक सय वर्ष बढी पुरानो भएको र पहिल्यैदेखि स्थानीयले पूजाआजा गर्दै आइरहेको स्थानीय बूढापाका बताउँछन् । यो देवस्थलका पुजारी दलित समुदायका अर्जुन विश्वकर्मा थिए । दुई दशक अघि उनैले यो स्थललाई व्यवस्थित बनाउने अभियान चलाएका थिए । उनको निधनपछि एक दशक अघि स्थानीय मधेसी, पहाडी र आदिवासी समुदायका युवा यहाँको भौतिक पूर्वाधार विकासमा लागे । उनीहरुले विधिवत मन्दिर व्यवस्थापन समिति गठन गरेर काम गरिरहेका छन् ।

३ विघा १७ कठ्ठा जग्गामा फैलिएको यो मन्दिर परिसरमा चापाकल, पशु बलि दिने स्थल, वनभोजकोलागि टहरा, खुला चौर, पुजन सामग्रीको पसल एवं दर्शनार्थीको आवागमनमा निगरानीकालागि सीसीटीभी नियन्त्रण कक्ष छ ।

बिदामा, शनिबार र स्थानीय बजार बन्द हुने मंगलबारका दिन यहाँ भक्तजनको घुइचो लाग्छ ।

मन्दिरमा सामुदायिक भवन, खानेपानी र शौचालय निर्माणकालागि समितिले थप १२ कठ्ठा जग्गा किनेको छ । यो सबै भक्तजनकै दानदक्षिणाबाट सम्भव भएको समितिले जनाएको छ । स्वदेशको कुनाकुनाबाट तथा छिमेकी भारतको विभिन्न राज्यबाट भक्तजन आउने यस स्थलको विकासकालागि समितिले स्थानीय निकाय र प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्ने योजना अघि सारेको छ ।


प्रकाशित : कार्तिक १८, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्