२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रसुवागढीमा बिजोग [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — चीन जोड्ने एकमात्र रसुवागढी नाकामा महिनादेखि यातायात ठप्प छ । नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । बाढीबाट क्षति पुगेको पुल मर्मतमा ढिलाइले साउन १२ देखि नाकामा यातायातका साधन चलेका छैनन् ।

यातायात ठप्प भएपछि तीज, दसैं, तिहारजस्ता चाडपर्वका लागि नेपाल ल्याउन लागिएका अर्बौं मूल्यका स्याउ, लसुनलगायत सामान चीनको केरुङमा थन्किएका छन् । ती सामान कुहिन थालेको व्यवसायी टपिन्द्र तिमिल्सिनाले बताए । उनका करिब १ हजार २ सय कन्टेनरबराबरको सामान केरुङमा थन्किएका छन् । यसबाट व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ ।

यातायात रोकिएपछि दैनिक करोडौं राजस्व असुल हुने रसुवा भन्सार सुनासान छ । महिना दिनदेखि भन्सारमा राजस्व नउठेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । स्याउलगायत कुहिने सामग्री व्यवसायीले भरिया लगाएरै राजधानी ल्याउने पनि गरेका छन् । स्याउ कुहिन थालेपछि मान्छेलाई बोकाएर ल्याउन परेको स्वर्णीम इम्पोर्ट एक्स्पोर्ट प्रालिका प्रोपाइटर सारदा पराजुलीले बताए । करिब ७ सयमा बिक्री हुने १ कार्टुन स्याउ अहिले काठमाडौंमा २ सय ५० मा बिक्री गर्नु परेको उनले दुखेसो पोखे । अर्कोतिर केरुङको गोदाममा राखिएका र कन्टेनरमा लोड गरिएका सामान असुरक्षित हुने गरेको व्यवसायी शैलेश पौडेल बताउँछन् । उनले भने, ‘लोड गरिएका कन्टेनरका सामान चोरी हुन थालेको छ ।’ केरुङमा रहेको ४ कन्टेनरबाट सामान चोरी भएको उनले बताए । अन्तर्राष्ट्रिय नाका जोड्ने सडक मर्मतमा सडक विभागले चासो नदिएको व्यापारीहरुको गुनासो छ ।

यातायात अवरुद्ध हुँदा एकातिर व्यापारीले लाखौं घाटा व्यहोरिरहेका छन् अर्कातर्फ सरकारको राजस्व संकलन प्रभावित भएको छ । जिल्लाको उत्तरी भेगका स्थानीय बासिन्दा, चिनियाँ पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू समेत मर्कामा परेका गोसाइँकुण्ड गाउँपालिका २ का वडाध्यक्ष दावादार्जे तामाङले बताए । रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर्ड गर्न बाध्य छन् । डिभिजन सडक कार्यालय नुवाकोटले पनि सडक खुलाउन आलटाल गरेको तामाङको आरोप छ । नाका बन्द भएपछि स्थानीय होटलसमेत खाली भएका छन् । घट्टेखोलामा होटल सञ्चालन गर्ने छेटेन शेर्पाले भने, 'चीनको कैलाश मानसरोवर जाने ५ ग्रुप भारतीय तीर्थयात्रीहरूले होटल बुकिङ पनि क्यान्सिल गरे ।' उनका अनुसार चिनियाँ पर्यटक आउनै छाडेका छन् ।

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले भने गोसाइँकुण्ड गाउँपालिकाको घट्टे खोला पुल मर्मत सकिएको बताए । उनले शुक्रबारदेखि पुलबाट यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए । सडक खुलाउन नेपाली सेनाको मध्य पृतनाअन्तर्गतको कालीप्रसाद गण र मैलु स्याफ्रुबेंसी सडक निर्माण कार्यदलको प्राविधिक टोली खटिहरेको छ । सडक मर्मतमा विभिन्न टोलीका गरी तीन दर्जन जनशक्ति खटिएका छन् । पहिरो पन्छाउन स्काभेटर र लोडर प्रयोग गरिएको छ ।


प्रकाशित : भाद्र १३, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्