कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोसाइँकुण्डमा भक्तजनको घुइँचो [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — जनैपूर्णिमाका दिन धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा सयौं भक्तजनहरुले स्नान गरेका छन् । भाद्र १ गतेबाट १० गतेसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । यसवर्ष ८ देखि ९ हजार भक्तजनहरुले कुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमले बताए ।

मेला भर्न जिल्लाका स्थानीय तथा नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, चितवन, मकवानपुर, सिन्धुली काठमाडौं उपत्यकालगायत देशैभरका हिन्दु तथा बौद्ध धर्मालम्बीहरु गोसाइँकुण्ड पुगेका थिए । कुण्डमा स्नान गर्दा आफूले चित्ताएको पूरा हुने र पितृ तर्ने विश्वासले आफू गोसाइँकुण्डमा स्नान गर्न आएको मकवानपुरका अमृतप्रसाद बोलखेले बताए । उनले भने, 'गोसाइँकुण्ड त पुन्यभूमि रहेछ ।'

जनैपुर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइँकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पूजा तथा स्नान गर्दा मनमा आनन्द हुने भक्तजनहरुमा विश्वास छ । भक्तजनहरुले कुण्डमा स्नान गरेपछि जनै फेर्ने र रक्षाबन्धन समेत गरेका थिए । बौद्धधर्मका भक्तजनहरु भने झाँक्रीसहित नच्दै कुण्डको परिक्रमा गर्दछन् । गोसाइँकुण्ड जीवनमा एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल मानिन्छ । यो स्वदेश तथा विदेशमा समेत प्रसिद्ध छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । पौराणिक कथनअनुसार परापुर्व कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा उत्पन्न कालकुट विष सेवन गरेका भगवान शिवले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धारा उत्पतिपछि धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भन्ने किम्बदन्ती पाइन्छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ रहेको प्रसिद्ध तीर्थस्थल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यो गोसाइँकुण्ड समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा छ । यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ । नेपालका चार धाममध्ये एक धामको रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डहरुलाई २०६४ साल असोज ६ गते रामसार साईटमा सूचीकृत गरिएको छ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको अनुमान छ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराहरु रहेका छन् ।

कुण्ड नजिकै अमरसिंह गुफा, अमरसिंहको चिहान रहेको छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता ठाउँहरुबाट मनोरम दृश्यहरु अवलोकन सकिन्छ । यस वर्षको मेलामा नेपाली सेनाको कालिजंग गण, नेपाल रेडक्रस सोसाइटी नेपाल रसुवा शाखा, हिमालय उदार संघ, सक्षम नेपाल तथा जिल्ला स्वास्थ्य कार्यालय विभिन्न स्थानमा स्वास्थ्य राखेका थिए । कुण्डमा भक्तजनबाट हुने फोहर संकलन गर्न हरित युवा पर्यटन विकास समाज, नेपाल स्काउ, स्यामेवाङफेल माविका रेडक्रस जुनियर सर्कललगायत विभिन्न सामाजिक संस्था सक्रिय रहेका थिए ।


प्रकाशित : भाद्र १०, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्