१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'राइड काष्ठमण्डप टु खोकना'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको बसन्तपुरदेखि ललितपुरको खोकनासम्म साइकल र्‍याली गरिएको छ । १२ वैशाख ०७२ को भूइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा हातेमालो गर्दै बुङमती र खोकना क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका चिनाउन ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ आयोजना गरिएको हो ।

बसन्तपुरस्थित काष्ठमण्डपबाट सुरु भएको चौंथो संस्करणको साइक्लिङको उद्घाटन पर्यटन व्यवसायी अमर शाहीले गरेका थिए । करिब २० किमिको साइकल यात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मती हुँदै खोकना पुगेको थियो ।

पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र ‘खोकना पुनःनिर्माण तथा पुनःस्थापना समिति’को संयुक्त आयोजनामा गरेको हो । यसवर्ष करिब दुई सयजना साइकलले सहभागी थिए ।

साइक्लिङ अभियान सुरु भएपछि खोकना र बुङमती क्षेत्रमा साइक्लिङ गर्ने स्वदेशी तथा विदेशी बढ्दै गएको अनुभव छ समितिका अध्यक्ष श्याम महर्जनसँग । ‘हामी भुइँचालोबाट क्षतिग्रस्त संरचनाको पुननिर्माणमा जुटेका छौं,' महर्जन भन्छन्, ‘पर्यटन प्रवर्द्धन गर्न हामी खोकनामा होमस्टे गराउने योजनामा छौं ।’

‘राइड काष्ठमण्डप टु खोकना’को चौंथो संस्करणका अवसरमा शनिबार खोकनामा दुई साइक्लिष्टलाई सम्मान गरिएको छ । नेपालमा साइक्लिङ पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउँदै आएका सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई खोकनामा सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्र र जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।


प्रकाशित : श्रावण २६, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्