कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — करिब पौने २ बजे, राजधानीको भृकुटीमण्डपमा थापाथलीतर्फ जान गाडी पर्खिरहेको थिएँ । यसैबखत एक्कासी पानी पर्‍यो । केहीबेर अघिसम्म सामान्य देखिएका मान्छेको दैनिकी एक्कासी बिथोलियो । पैदल हिँड्दै गरेकाहरु कोही रुखमुनि त कोही प्रतीक्षालयमुनि ओत लिन तँछाडमछाड गर्न थाले ।

वर्षात्‌को सिजन भएकाले धेरैसँग छाता थियो । छाता भए तापनि हतारका बेला गाडीमा फुत्त छिर्नु पनि मुश्किलै थियो । छाता नभएकाहरु बरु सहजै गाडीमा छिरेका देखिन्थे । छाताले सबैलाई अल्मल्याइरहेको देखिन्थ्यो ।

दर्किएको पानीका कारण छाता, रेनकोट ओढेकाहरु पनि बाँकी रहेनन्, सबै रुझेका देखिन्थे । यो बेला दूधे बच्चा च्यापेर गाडी पर्खिरहेका महिलादेखि कलिला बालबालिका डोर्‍याएर घुम्न निस्केकाहरु निथ्रुक्क भिजे । पौने घण्टाको वर्षात्‌का बीच म प्रदर्शनीमार्ग हुँदै बागबजारतर्फ लागेँ । प्रदर्शनीमार्ग लाइन जाँदै गर्दा तीनजना दृष्टिविहीन एकअर्काका सहारा भई डेरातर्फ गइरहेका थिए । उनीहरुले बाटो बिराउँदा बीच–बीचमा पैदलयात्रुहरुले गाइडलाइन गरिरहेका थिए ।

बागबजार पुग्दा मुख्य गल्लीसँगै जोडिएको सहायक गल्लीमा घुँडा–घुँडासम्म छुने पानी जमेको थियो । गल्लीको वैकल्पिक बाटो नहुँदा स्थानीयहरु बाध्य भई भेलमा पाइला चाल्दै गरेका देखिन्थे । साउने झरीका बखत काठमाडौं उपत्यकाका बस्तीमा देखिने यस्ता दृश्य भने काठमाडौंवासीका लागि सामान्य जस्तै बन्न थालेको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्