१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भगवान पुकार्दै मनास्लु पदमार्गको यात्रा

वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाको अनुरोध
हरिराम उप्रेती

गोरखा — बर्खा लागेसँगै मनास्लु पदमार्गको ठाउँ/ठाउँमा गएको पहिरोले जोखिम बढाएको छ । पहिरो सँगै माथिबाट ढुङ्गा झर्न थालेपछि पैदलयात्रीहरु समस्यामा परेका छन् ।

‘कतिखेर पहिरो जान्छ थाहा नै हुँदैन,’ लापुवेशीमा भेटिएका खच्चडवाला कान्छा गुरुङले भने,‘तल वुढीगण्डकी छ, माथि भिर छ, हिँड्दा हिँड्दै कहिले अगाडी, कहिले पछाडी पहिरो खसिरहन्छ, भगवान सम्झदै हिँड्ने गरेका छौँ ।’

उक्त पैदलमार्ग असुरक्षित भएपनि पहिरो छल्दै यात्रा गर्न बाध्य बनेको उनले बताए । पदमार्ग अन्तरगत अर्मलादेखि तातोपानीसम्म नेपाली सेनाले सडकको ट्रर्‍याक खोलेको छ । विस्फोटक पदार्थको धक्काले कमजोर भएको ढिस्का र पहरा लगातार पानी परेसँगै झर्न थालेको हो ।

‘हिँडन सक्ने अवस्था नै छैन, पानी पर्दा पनि पहिरो आउँछ, चर्को घाम लाग्दा पनि पहिरो आउँछ,’ लापुका कुमार गुरुङले भने,‘पहिरो भासिन लागेको छ की छैन माथि हेर्दै अनि कुद्ने हो ।’

पदमार्ग अन्तरगतको नौलीखोला, लापुवेशी, तातोपानी, माछाखोला लगायतका एक दर्जन ठाउँमा ठुला ठुला पहिरो जानुका साथै ढुङ्गा झरेका छन् । ‘तल मान्छे हिँडेको छ, माथिबाट ढुङ्गा झेरको झर्‍यै गर्‍यो, यसले निकै जोखिम वढायो,’ धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ।

गाउँपालिकाले दुई महिना उक्त पदमार्ग बन्द गर्न सुचना जारी गर्ने तयारी गरेको छ । ‘पदमार्ग जोखिम छ यो बाटो नहिँड्नु होला भनेर लेखिएको होडिङ वोर्ड आज भोली नै अर्मला र माछाखोलामा राख्छौँ,’ गुरुङले भने । गाउँपालिकाले वैकल्पिक र सुरक्षित मार्गको प्रयोगबाट आउजाउ गर्न पनि स्थानीयहरुलाई आग्रह गरेको छ ।

जोखिम बढेसँगै उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, चुम्चेत, सिर्दिवास, विहि, ल्हो, प्रोक, विहि, गुम्दा, केरौँला लगायत गाउँका स्थानीयहरुलाई आउजाउमा समस्या परेको छ । यस अघिका वर्षमा पनी उत्त पदमार्ग भएर यात्रा गर्ने पैदलयात्रीहरु ढुङ्गा खसेर घाइते हुने तथा ज्यान जानेसम्मका घटना दोहोरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले नेपाली सेनासँग समन्वय गरेर बर्खाको समयमा के गर्ने भन्ने विषय टुङ्गाउने बताए ।

प्रकाशित : असार ३, २०७५ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्