१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चाडज‍स्तो बन्यो इलामेलीलाई फुटबल [फोटोफिचर]

विप्लव भट्टराईं

काठमाडौँ — अचेल दिउँसो दुई बजेदेखि नै बजारबाट टुँडिखेलतर्फ निरन्तर क्याराभान छुट्छ । वैशाख छ गतेदेखि सुरु भएको माइभ्यालीको चौथो संस्करणमा यस्तै नियमित यस्तै दृश्य देखिन्छ । फुटबललाई संस्कृति मान्ने इलामेका लागि यति बेला ठूलो पर्वजस्तै भएको छ । बजारमा पसल हुनेहरु सटर बन्द गरेर फुटबलमा रम्न टुँडिखेल निस्कन्छन् । गाउँगाउँबाट दर्शक भेलिँदा सदरमुकामको चाम नै बढेको छ ।

फुटबल मोहकै कारण पूर्वका विभिन्न जिल्ला र भारतको दार्जिलिङ सिक्किमबाट पनि दर्शक आएका छन् । थेगिनसक्नु गरी भेला हुने दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मे पर्छ । पाकादेखि बच्चासम्म टुँडिखेल पुग्दा कुनै भव्य अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम देखिँदैन । आयोजकले चारैपट्टि बारेर भरसक टिकटबिना कसैलाई प्रवेश नदिन परिबन्ध गरिएको छ । यति हुँदा आसपासका दर्जन घरका छत र बार्दली भरिएका हुन्छन् ।

क्याम्पस भवनको छतसँगै त्यसतलको पाखा पनि भरिभराउ हुन्छ । आयोजकले स्टेजबाट पेचिलो गरी आग्रह गर्छन्, ‘टिकट काटेर हामीलाई सघाउनु होस् भनेको होइन । बार्दली र छतबाट खसेर दुर्घटनामा कोही पनि नपरुन् भन्ने हाम्रो अनुरोध हो । यति हुँदा पनि रमितेको चाप घट्दैन । टिकट काट्नेहरु पनि राम्ररी खेल हेर्न पाइने भन्दै त्यतै दौडिएका भेटिन्छन् ।

हरेक खेल हेर्न अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र बालबालिका पुगेकै हुन्छन् । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताका सेमिफाइनल चरणका खेल सकिएका छन् । सोमबार फाइनलमा नेपाली फुटबलका हस्तीहरु थ्रीस्टार र मनाङ मर्स्याङ्दी उपाधि भिडन्तमा उत्रँदा आयोजकलाई दर्शक थेगाउन ठूलै परिश्रम गर्नु पर्नेछ । करिब १० हजार दर्शक थेग्ने बाँसे र प्राकृतिक प्याराफिट यसअघि पनि साँघुरो भएको अवस्थामा २ बजे सुरु हुने खेलका लागि ११ बजेदेखि नै सिट सुरिक्षत गर्न आएका दर्शकका कारण टुँडिखेल भरिभराउ हुने पुरानै परम्परा हो ।

चियाबारीको हरियालीसहित मनमोहक भूगोलको चिसोमा फुटबल खेल्न पाउनुले अधिकांश खेलाडीले एयर कन्डिसनयुक्त स्टेडियमको आभास भएको प्रतिक्रिया दिए । ‘चोक, गल्लीदेखि होटल/होटलसम्म चल्ने फुटबल बहस र घुमघाममा निस्कँदा पनि न्यानो माया दिँदै सेल्फी हान्न चाहनेको क्रेज देख्दा फुटबल खेलाडी भएर इलाम आउन पाएकोमा गर्भ लाग्छ,’ राष्ट्रिय टिमको समेत कप्तानी गर्दै आएका मनाङ मर्स्याङ्दी क्लबका विराज महर्जनले भने ।

प्रतिक्रिया दौरान खेलाडी/खेलाडीबीच या प्रशिक्षक रेफ्रीबीच तनावका केही दृश्य देखिए । तर, हजारौंको संख्यामा आउने दर्शकका कारण कुनै पनि अप्रिय घटना भने भएको छैन ।

दर्शकलाई भने सास्तीनेपालका चर्चित क्लब र खेलाडीले आफ्नै आँखा अगाडि फुटबल खेलेको हेर्ने रहर कसलाई नहोला र । तर फुटबलकै लागि मरिहत्ते गरेर आउने दर्शकले पाउने कष्टले भने प्रतियोगितालाई नै खल्लो बनाउने गरेको छ ।पुरस्कार राशि र व्यवस्थापनका हिसाबले पूर्वी पहाडकै भव्य टुर्नामेन्टको रुपमा हेरिने माइभ्याली गोल्डकपमा दर्शकलाई सहज ढंगले खेल हुर्ने व्यवस्थापन गर्नु आयोजकको टाउको दुखाई बनेको छ । व्यवस्थित प्यारापीटको अभाव, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका र अशक्तले कष्ट झेलेर फुटबल हेर्नु पर्ने अवस्था छ । फुटबललाई संस्कृति मान्ने इलामेहरुको एउटै भनाइ छ, सहजले बसेर फुटबल हेर्न पाइयोस् ।

व्यवस्थित रंगशाला नहुँदा आयोजकले सधैं यो झमेला खेप्नु परेको हो । अस्थायी प्यारापिट बनाएर दर्शक व्यवस्थापन गरिँदै आए पनि खर्च थेगिनसक्नु गरी चुलिँदै गएको छ । दुई हजार घना बाँस वार्षिकरुपमा आवश्यक हुने र श्रमिक तथा बाँसको मूल्य पनि बढ्दै गएकाले आर्थिक भार बोझिलो बन्दै गएको हो । प्यारापिट बनाउन मात्रै आयोजकले चार संस्करणसम्म आइपुग्दा ३० लाखभन्दा धेरै खर्च गरिसकेको छ । पुरस्कार राशिमा बर्षेनी बढोत्तरी र तामझाम वृद्धि भए पनि प्रतियोगिताको अभिन्न अंग दर्शकलाई खुसी बनाउन आयोजक कुनै कसर नराखेको दाबी गर्छ । ‘उपयुक्त जग्गा नभएकै कारण स्थायी संरचना बनाउन नसकिएको हो,’ आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले भने, ‘नेपाली सेनाको स्वामित्वमा टुँडिखेल रहेकोले अर्को जग्गा स्टेडियमका लागि व्यवस्थापन गर्ने या सेनालाई अर्को स्थानमा जग्गा व्यवस्थापन गरेर समाधान गरिनु पर्छ । यसका लागि नगरपालिका प्रदेश सरकार र केन्द्र सरकारलाई क्लबको तर्फबाट हार्दिक आग्रह गर्दछु ।’जिल्लाकै प्रतिष्ठासँग जोडिएको माइभ्याली गोल्डकपलाई सभ्य, भव्य र उत्कृष्ट बनाउन पहिलो आवश्यकता नै व्यवस्थित रंगशाला देखिएको छ । युवाहरुलाई विकृति-विसंगतिबाट जोगाउँदै पर्यटन प्रवर्द्धनमा पनि गतिलो टेवा दिन सक्ने यो प्रतियोगितालाई थप स्तरीय बनाउन सरोकारवालाले बेलैमा ध्यान दिने हो कि ?


प्रकाशित : वैशाख १६, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्