कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निकालियाे कमलको डाँठ

हरि गौतम

रुकुम (पूर्व) — सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहमा वर्षको एक महिना मानिसहरु डुबुल्की मार्छन् । यस वर्ष फाल्गुन अन्तिमदेखि वैशाखको पहिलो हप्तासम्म गाउँलेहरुले डुबुल्की मारे ।

शीतलाता वा रमाइलोका लागि गाउँलेहरु दहमा डुबुल्की मारेका भने होइनन् । दहमा फुल्ने कमलको फूलेको डाँठ निकाल्न उनीहरुले त्यसरी डुबुल्की मारेका हुन् ।

अचार खान र जन्डिस रोग निको पार्न कमलको डाँठ प्रयोग हुने गरेको छ । डाँठ निकाल्न प्रति दिन प्रति व्यक्ति पुरुषले ५ र महिलाले २ सय रुपैयाँ तिरेर कमलको डाँठ निकाले । कमल दहको आम्दानी पहिलो पटक राज्यको मातहत आएको छ । गाउँपालिकाले कमलको डाँठ बेचेर पहिलो पटक आम्दानी लिएको छ ।

डाँठ निकाल्नका लागि गाउँपालिकाले ८० हजारमा ठेक्का लगाएको थियो । सर्वसाधारणले कर तिरेरै कमलको डाँठ निकाले । कतिले विक्री गरे भने कतिले खाए ।

५ सय रुपैयाँ तिरेर कमलको डाँठ निकाल्नेहरुले त्यसको विक्रीबाट राम्रै आम्दानी समेत गरे । ठेकेदार दीपक शाहीले यस वर्ष सात लाख बराबरको कमलको डाँठ विक्री भएको बताए । यसलाई अझ व्यवस्थित गर्न सके गाउँपालिकाको आन्तरिक आम्दानी बढ्ने उनले बताए । गाउँपालिकाका अध्यक्ष कुमारी बरालले पहिलो पटक कमलको आम्दानी सरकारमा ल्याएको भन्दै आगामी दिनमा थप व्यवस्थित गर्ने बताइन् । ‘यस अघि छरपस्टै थियो, यस पटकदेखि सुरुवात गरेका छौं,’ उनले भनिन्, ‘अबका दिनमा अँझै व्यवस्थित भएर जानेछ ।’

प्रकाशित : वैशाख ११, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्