कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वनैभरि सुनाखरी [तस्बिरहरु]

तस्बिर/शब्द : हरिहरसिंह राठौर

काठमाडौँ — सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाइन्छ । यतिबेला कास्कीको पोखरा, जाजरकोट, भोजपुर, संखुवासभा, ताप्लजुङलगायत धादिङको रुवीभ्यालीमा रङ्गीबिरङ्गी सुनगाभा (सुनाखरी) फुलेको हेर्न सकिन्छ ।

सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ भने कतिपय प्रजाति जमिनमै पनि फुल्छन् । फूल फुल्ने प्रजातिमा सुनाखरीको ठूलो समूह रहेको छ । हालसम्म विश्वभर यसका २५ हजारभन्दा बढी प्रजाति तथा ८ सय जेनेरा थाहा भएको छ । हावापानीको विविधताका कारण नेपालमा सुनाखरीका प्रशस्त प्रजाति पाइन्छन् । सन् २०१६ को जनवरीसम्म गरिएको अध्ययनमा नेपालमा जम्मा ५ सय १७ प्रजातिको रहेको अभिलेख छ ।

नेपालमा पाइने सुनाखरीहरु विशेषगरी बैठक कक्ष, घर बगैंचामा सजावटी तथा औषधीय गुणले भरिपूर्ण मानिन्छन् । यहाँ पाइनेमध्ये ८० भन्दा बढी सजावटमा प्रयोग हुने सुनाखरी र पाँचऔंलेलगायत एक सय बढी औषधिमा प्रयोग हुने गरेको पाइन्छ । जडिबुटी संकलकले राम्रो आम्दानी हुने भएपछि बीऊ नै मासिने गरी जथाभावी संकलन गर्न थालेपछि धेरैजसो जंगली सुनाखरीहरु लोपोन्मुख अवस्थामा समेत पुगेका छन् ।

नेपालमा सुनाखरीको अध्ययन १८ औं शताब्दीदेखि नै भएको अभिलेख छ । सबैभन्दा पहिले सन् १८०२ मा फ्रान्सिस बुचम्यान ह्यामिल्टन र नाथनियल वालिचले सन् १८२० तिर नै काठमाडौं आसपासका क्षेत्रमा अध्ययन गरेका थिए ।

वनस्पति विभागको सुनाखरीसम्बन्धी पछिल्लो प्रकाशन (सन् २०१५) अनुसार नेपालमा १ सय ७ जेनेराअन्तर्गत ४ सय ५१ प्रजाति छन् । पछिल्ला अध्ययनलाई समेत जोड्दा यसको संख्या ५ सय १७ सम्म पुगेको देखिन्छ । सुनाखरी संरक्षणमा विभिन्न चुनौती पनि थपिएका छन् । पुराना जंगल फँडानी, जथाभावी र अत्यधिक संकलन, संरक्षणमा कम चासो र सुनाखरीमा अध्ययन तथा अनुसन्धानको कमीले संरक्षणमा कठिनाइ भएको छ ।

प्रकाशित : चैत्र १३, २०७४ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्