३६औं मगर दिवसका ९ तस्बिर

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — मगर समुदायले विभिन्न कार्यक्रम गरी मंगलबार ३६औं मगर दिवस मनाइरहेका छन् । नेपाल मगर संघ स्थापनाको दिनलाई मगरहरुले दिवसकै रुपमा मनाउने गर्छन् । समानता सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यसहित २०३९ साल फागुन १५ गते नेपाल मगर संघ स्थापना भएको हो ।

दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न भेषभूषा, झाँकी प्रदर्शन गरिएको छ ।

मगर दिवसका साथै म‌ंगलबार नेपाल मगर संघको २६औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन पनि परेको छ । सम्मेलनका लागि 'पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधनः सामाजिक न्याय तथा पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६औं राष्ट्रिय सम्मेलन' नारा तय गरिएको छ । सम्मेलनमा ६९ वटा जिल्ला समिति, ६ वटा भातृसंस्थाहरु, वैदेशिक शाखा/सस्थाहरु, आवद्ध संस्थाहरु र राजनीतिक मगर जायीय मोर्चा तथा संगठनहरुको प्रतिनिधिहरु गरी ५०० जनाको सहभागिता रहने नेपाल मगर संघले जनाएको छ ।

सम्मेलनको उद्घाटन मंगलबार टुँडिखेलमा नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले गरेका छन् । सम्मेलनको बन्द सत्र बुधबार र बिहीबार नयाँ बसपार्कस्थित गुरुङ राष्ट्रिय परिषद्को कार्यालमा हुनेछ । सम्मेलन ऐतिहासिक मगरात आदिम भूमिलाई एक ठाउँमा केन्द्रित गरेर मगरात क्लस्टर मिलाउन समेत जोडदार माग गर्दै प्रस्तावित ४ नम्बर, ५ नम्बर र ६ नम्बर प्रदेशलाई मगरातसहितको नामकरण गराउनमा केन्द्रित हुने जनाइएको छ । तर, ६ नम्बर प्रदेशको नाम कर्णाली राखिइसकेको छ ।


प्रकाशित : फाल्गुन १५, २०७४ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्