कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो स्वयम्भूबाट टुँडिखेलको आतिशबाजी [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाली सेना दिवसका अवसरमा मंगलबार साँझ सैनिक मञ्च टुँडिखेलमा बढाइँ तथा आतिशबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी भइन् । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित थिए ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी थिए । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् ।

सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा शान्ति सेनामा संयुक्त राष्ट्र संघमा सहभागी भएको ६० वर्ष पुगेको अवसरमा नेपाली सेनाद्वारा विभिन्न मिसनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो । सेनाले शिवरात्रिका अवसरमा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी सेना दिवस भव्य रुपमा मनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ । वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ । संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ । पछिल्ला समयमा नेपाली सेना मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय राजदूतले भेटे ओलीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय राजदूत मन्जिभसिंह पुरीले एमाले अध्यक्ष केपी ओलीसँग नयाँ सरकार गठनलगायत विषयमा छलफल गरेका छन् । उनले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगी ओलीलाई भेटेका हुन् ।

त्यस क्रममा ओलीले वाम गठबन्धनले केही दिनमै सरकार गठन गर्ने र त्यससँगै पार्टी एकता पनि अघि बढ्ने बताउँदै विकासमा सहकार्य गर्न पुरीलाई आग्रह गरे । पुरीले ओलीलाई महाशिवरात्रिको शुभकामनासमेत दिएका थिए ।

चुनावी परिणामले वाम गठबन्धनको सरकार निश्चित भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका ओलीसँग दुई पटक टेलिफोन वार्ता गरी सहकार्य गर्न भारत उत्साही रहेको बताएका थिए । त्यही क्रममा भारतीय प्रधानमन्त्रीको विशेष सन्देश लिएर त्यहाँकी विदेशमन्त्री सुष्मा स्वराज पनि दुई साताअघि काठमाडौं आई ओलीसँग लामो वार्ता गरेकी थिइन् ।

यति बेला भारतीय सेनाध्यक्ष विपिन राउत पनि काठमाडौंमा छन् । उनी सेना दिवसमा विशेष अतिथिका रूपमा काठमाडौं आएका हुन् ।

प्रकाशित : फाल्गुन १, २०७४ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×