कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ल्होछारमा झुम्मिए तामाङ [फोटोफिचर]

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — बेंसीसहरमा शनिबार दिउँसो तामाङ समुदायका बालबालिका, युवायुवती र वृद्धवृद्धा मौलिक भेषभूषामा सजिएर निस्कँदा दायाँबायाँका स्थानीय लहरै हेरिरहे । बजारको माथिल्लो बिन्दू मनाङे चौतारामा भेला भएर डम्फू, खैंजडीलगायत बाजा बजाउँदै भिन्दाभिन्दै सांस्कृतिक नृत्य र झाँकीसहित टोली नाच्दैगाउँदै फूलबारी मञ्चमा पुगे ।

२८५४ औं खि तथा नागी अर्थात् कुकुर वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समितिले शनिबार गरेको बृहत सांस्कृतिक उत्सवमा भाग लिन भोटेओडार, सुन्दरबजार, खुदी, भुलभुले, भुष्मेलगायत ठाउँबाट तामाङ समुदाय ओइरिए । उनीहरुले बाटोमै तामाङसेलो, डम्फूनाच, म्हेन्दोमाया, लामानाच प्रदर्शन गरेका थिए । दिनभरि फूलबारी मञ्चमा नाचगान गरे ।

उत्सवमा रोशन फ्युबा तामाङ, कुमार गुरुङ, सुरज योञ्जन तामाङ, लक्ष्मी तामाङ, विशाल योञ्जन तामाङ, सुविला तामाङ, नेहा योञ्जन तामाङ, प्रशान्त तामाङलगायतले गीत गाउँदै गर्दा कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख धनमाया तामाङ, तामाङ घेदुङ केन्द्रीय सदस्य सावित्री तामाङ, प्रदेश नं. ४ उपाध्यक्ष हरिजंग तामाङ, आयोजक तामाङ घेदुङका जिल्ला अध्यक्ष अजय तामाङ, सांस्कृतिक घेदुङका अध्यक्ष आशिष तामाङ छमछमी नाचे । कलाकार लालबहादुर तामाङले जादुबाट शान्तिको प्रतीक परेवा उडाए ।

तामाङ समुदायले यस वर्ष फागुन ४ गते सोनाम ल्होछार मनाउँदैछन् । तामाङ समुदायको १२ वटा बर्गचक्रमध्ये यसबर्ष ज्याल्हो (चराबर्ग) को बिदाई गरी खि अर्थात नागी (कुकुर) बर्गको प्रारम्भ हुँदैछ ।

प्रकाशित : माघ २७, २०७४ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्