१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

[तस्बिरमा हेर्नुहोस्] रौतहट र धनुषामा मनोनयन दर्ता

पवन यादव, हेमन्त श्रेष्ठ, दिपेन्द्र बडुवाल

रौतहट, धनुषा — स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं. २ मा बुधबार उल्लासमय मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले बताएको छ । यहाँको गरुडा, चन्द्रनिगाहपुर, गौर, वृन्दावन, मौलापुरलगायत १६ वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराए । मनोनयन दर्ता गराउन उनीहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।

पार्टीको झन्डा, ब्यानरसहित उनीहरु जुलुस लिएर तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मनोनयन दर्ता गराउने क्रममा समर्थकले आआफ्नो उम्मेदवारको जित सुनिश्चित भएको भन्दै नाराबाजी गरेका थिए । जिल्लाको मुख्य सहर चन्द्रनिगाहपुरमा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारले भव्य जुलुसका साथ निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए । त्यस्तै गरुडामा नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरमका उम्मेदवारले जुलुसका साथ उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।



सदरमुकामस्थित गौर नगरपालिकामा एमाले, राजपा, संघीय समाजवादी फोरमका उम्मेदवारले जुलुसका साथ उम्मेदवारी दर्ता गराए । जिल्लाभरि शान्तिपूर्ण रुपले उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो ।
जिल्लाको १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहमा १८ जना प्रमुख तथा उपप्रमुख निर्वाचित हुनेछन् । त्यस्तै एक सय ५७ वटा वडामा अध्यक्ष, ६ सय २८ जना वडा सदस्य गरी जिल्लाभरिमा स्थानीय तहमा ८ सय २१ जना पदाधिकारी निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनको लागि जिल्लाभरिमा २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका छन् । यस पटकको स्थानीय तहको निर्वाचनमा १ लाख ७५ हजार ६४ जना पुरुष र १ ला ४५ हजार ९ सय ५४ जना महिला गरी ३ लाख २१ हजार २८ जना कुल मतदान गर्ने छन् ।

धनुषाको दृश्य

प्रकाशित : भाद्र २१, २०७४ १८:५४

प्रतिक्रिया
पठाउनुहोस्