कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दु:खमा पनि जीवन हुन्छ

गंगा बिसी

काठमाडौं — सुख र दु:ख मान्छेको जीवनका दुई पाटा हुन् । बालकृष्ण समले लेखेका छन्, ‘दु:खीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझ मलाई दु:ख दे ।’ नेपालीको हकमा यो लागू भएझैं भएको छ । हरेक वर्ष नेपालीले केही न केही ठूला दु:ख भोग्नुपरेकै छ ।

तस्बिर : अंगद ढकाल


नेपालको तराई क्षेत्रमा गत साता आएको बाढीले महाविपत् ल्याइदियो । हजारौं विस्थापित भए, करोडौंको धनमाल नोक्सान भयो, सवा सयभन्दा बढीले ज्यान गुमाए । हामी पूर्वी तराईको जनकपुर, सप्तरी, सुनसरी र मोरङको बाढी प्रभावित क्षेत्रमा पुग्दा दु:ख नै बढी थियो । त्यो दु:खमा पनि हाँसो र आशा पनि थियो । हाँसो र आँसुको संगमले जीवन अघि बढ्छ । आँसु बगेर जान्छ, हाँसो अनुहारमा रहिरहन्छ । अनि दु:खको बेलामा पनि निस्कन्छ । बुझेर वा नबुझेर बाढी प्रभावित शिविर र क्षेत्रमा हाँसो र आशा जीवित छ । त्यसलेनै उनीहरूलाई अघि बढ्ने साहस दिएको छ । 


नेपालीहरू दु:खमा पनि हाँस्न र बाँच्न जान्दछन् भन्ने उदाहरण यो हुन सक्छ । बाढीबाट बढी प्रभावित सप्तरी र सुनसरीका शिविरमा घर र सम्पत्ति बाढीले खाइदिएपछि पनि आशाका किरण जीवित थिए । घरमा एक टुक्रा अन्न थिएन, सबै पानीले बगाएको थियो । जीउमा एकसरो लुगा मात्र बाँकी थियो । तैपनि बाढी पीडितहरूको आगामी दिनमा राम्रो हुने प्रतीक्षा गरिरहेका थिए । बाढीले विपत्ति ल्यायो भन्दैमा हाँस्न छाड्नुभएन नि, जीवन चलाउन छाड्नुभएन, कतिपयको भनाइ थियो । यही जीवन जिउन घरसम्पत्ति डुबानमा पर्दासमेत पीडितहरूको मुखमा मुस्कान थियो । 


दु:खमा जिउन सक्नु नेपालीको आफ्नै विशेषता छ । पहाडमा पहिरोदेखि तराईमा डुबानसम्म नेपालीले भोग्दै आएका छन् । सरकारले एक माना राहत नदिए पनि उनीहरू विध्वंस मच्चाएका छैनन् । धैर्य गर्न परिस्थितिले सिकाएको छ । यो धर्यले सकारात्मक दिशामा अघि बढ्न प्रेरित गरेको छ । बाढी प्रभावित क्षेत्रमा कठिन परिस्थितिमा जीवन चलाइरहेका नेपालीका यी तस्बिरले सकारात्मक जीवनको खास अर्थ बताउँछ । सुखमा मात्र होइन, दु:खमा पनि जीवन हुन्छ भन्ने देखाएको छ ।

 

  प्रकाशित : भाद्र ३, २०७४ १४:३२

प्रतिक्रिया
पठाउनुहोस्