१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

[फोटोफिचर] चितवनबाट शुक्लाफाँटा लैजान गैंडा समातियो

एक भाले र ४ पोथी शुक्लाफाँटामा स्थानान्तरण गरिने
शब्द तथा तस्बिर : शिव पुरी

भरतपुर — चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा सोमबार बिहानदेखि ३० वटा हात्ती तैनाथ गरिएको थियो । डार्ट गर्ने प्राविधिकसहित सयको हाराहारीमा निकुञ्जका टोली गैंडा खोज्न जंगल छिर्‍यो । करिब १ किलोमिटर पर राप्ती नदी नजिक पुग्नासाथ माउ र बच्चासहित ३ वटा एक सिंगे गैंडा फेला पर्‍यो ।



निकुञ्जले चारै तिरबाट हात्तीको मद्दतले घेरा हाल्यो । घोल भएकोले डार्ट गर्न सम्भव थिएन् । त्यसैले घेराबन्दि गर्दै सुख्खा चौरमा गैंडालाई पुर्‍याइयो । निकुञ्जका प्राविधिक तीर्थबहादुर तामाङले गैंडालाई गनद्वारा डार्ट गर्न पहिलेदेखि त्यहाँ तयार भएर बसेका थिए । उनले औषधियूक्त डार्ट प्रहार गरको ५ मिनेट पछि गैंडा ढल्यो । त्यसपछि प्राविधिक टोलीले पुगेर जाँच गरी खोरमा राखे ।



नेपाल सरकारको निर्णय अनुसार निकुञ्जस्थित सुखीभार क्षेत्रबाट ५ वटा एक सिंगे गैंडा शुक्लाफाँटा लैजान लागिएको हो । अहिले करिब १३/१४ वर्षको वयस्क गैंडा डार्ट गरी खोरमा राखिएको छ । सरकारी निर्णय अनुसार गैंडा स्थानान्तरण गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचद्र कँडेलले बताए ।

‘एक भाले र ४ पोथी शुक्लाफाँटा स्थानान्तरण गर्न लागेका हौं,’ उनले भने, ‘त्यसका लागि ३० वटा हात्ती र सयजना कर्मचारी खटिएका छन् ।’ बर्दिया राष्ट्रिय निकुञ्जमा १ वर्ष अघि यहाँबाट ५ वटा गैडा स्थानान्तरण गरिएको थियो ।

शुक्लाफाँटा गैंडाको राम्रो वासस्थान रहेकोले यहाँ स्थित सुखीभार, बुढी राप्ती र नमुना सामुदायिक वन क्षेत्रबाट गैंडा लगिने प्रमुख कँडेलले जनाए । पहिलो लटमा एक भाले र पोथी लगिने निकुञ्जले जनायो ।

यसअघि सन् २००१ मा निकुञ्जबाट शुक्लाफाँटा स्थानान्तरण भएको ४ वटा गैंडा अहिले बढेर ९ वटा भएको छ । गैंडालाई चाहिने घाँसेमैदान, बासस्थान राम्रो रहेकाले शुक्लाफाँटामा पनि यसको वासस्थान बढ्ने निकुञ्जले जनायो ।

शुक्लाफाँटामा हाल ९ वटा गैंडा रहेको छ । यहाँबाट लगिएपछि गैंडाको संख्या १४ वटा पुग्नेछ । सरकारले शुक्लाफाँटामा ५ र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैंडा निकुञ्जबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । करिब ३० वर्षको अवधिमा निकुञ्जबाट ९२ गैंडा स्थानान्तरण गरिएका छन् ।

शुक्लाफाँटामा १६ वर्षअघि ४ गैंडा स्थानान्तरण गरिएका थिए । त्यहाँ सारेलगत्तै बर्दियाको बबई उपत्यकामा ५ गैंडा लगिनेछ । अहिले ४ वयस्क र एक बच्चा गैंडा छन् । गत वर्षको फागुनमा बबईमा ३ पोथी र दुई भाले गरी ५ गैंडा चितवनबाट लगेर छाडिएका थिए ।

त्यसमध्ये एउटा बिरामी भएर १९ फागुनमा मरेको छ । करिब एक वर्षको बीचमा दुइटा पोथीले बच्चा जन्माएकामा एउटा बच्चा गत माघ १ गते बाघले मारिदिएको छ ।







प्रकाशित : चैत्र २१, २०७३ १६:२४

प्रतिक्रिया
पठाउनुहोस्