१८ डिसेम्बर - फोटोफिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ डिसेम्बर

होम कार्की

आप्रवासी कामदारको मानव अधिकारप्रति सम्मान, मर्यादित काम, शोषणमुक्त श्रम, समान ज्याला, स्थानीय नागरिकसरह समान व्यवहार, सुरक्षित कार्यस्थल, स्वस्थ आवासगृह र शून्य लागतमा कामदारको गन्तव्यस्थलमा प्रस्थान, मनोरञ्जनलगायत सवालहरू १८ डिसेम्बरमा जोडतोडले उठ्ने गर्छन् ।

कामदारका न्यूनतम अधिकारहरू प्रत्याभूति गर्न दुवै देशका सरकार (स्रोत र गन्तव्य) हरू असफल छन् । खाडी तथा मलेसियामा कार्यरत झन्डै १५ लाख नेपाली कामदार म्यानपावर र कम्पनीबीच मिलोमतोको कारण आफ्ना न्यूनतम अधिकार पाउनसमेत वञ्चित हुँदै आएका छन् । अझ तल्लो तहमा कार्यरत कामदारको अवस्था झनै दयनीय छ । करारपत्रमा उल्लेख सर्त–सेवा नपाउनु, बसाइ तथा खाना गुणस्तरहीन हुनु, कम्पनीबाट शोषित पीडित हुँदा पनि न्यायमा पहुँच पुग्न नसक्नुजस्ता मुद्दाहरू साझा हुन् । कतारमा खिचिएका यी तस्बिरहरूले यही पुष्टि गर्छन् । विश्वकप आयोजक राष्ट्र हुनुको नाताले कतारलाई आप्रवासी कामदारको पक्षमा सुधार गर्न अन्तर्राष्ट्रिय दबाब त दिइयो । उसले एक हदसम्म सुधारको लागि पाइला पनि चाल्यो । त्योभन्दा अझ दयनीय अवस्था रहेको साउदी अरबजस्ता मुलुकमा कामदारले भोगेका जटिल सवालहरूमा कसले बोलिदिने ? विदेशमा कार्यरत नेपालीको हितका लागि नेपालले चालेका कदमहरू झन् धेरै कमजोर र दयनीय छ । यसैलाई सुधार्न घच्घच्याउने दिन हो डिसेम्बर १८ अर्थात् अन्तराष्ट्रिय आप्रावासी कामदार दिवस । 

प्रकाशित : पुस ३, २०७३ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

‘अनर किलिङ’को आतंक

भूमि भण्डारी

पाकिस्तानको लोकप्रिय मासिक पत्रिका ‘हेराल्ड’ ले देशका सम्भावित वर्ष व्यक्तिको सूची प्रकाशित गर्‍यो । पाकिस्तानका हस्तीहरू प्रधानमन्त्री, विपक्षी दलका नेता, पूर्व सेनाप्रमुख, खेलाडीमध्ये सूचीको पहिलो नम्बरमा कन्दिल बलुचको नाम थियो ।

दसमध्ये उनी कम उमेरकी र महिला मात्र होइन, मृत पनि थिइन् । अरू नौ उम्मेदवार जीवितै छन् । 

कन्दिल तिनै महिला हुन्, जसलाई उनका भाइले गत जुलाईमा हत्या गरे, परिवारको कथित ‘इज्जतमा क्षति पुर्‍याएको’ भन्दै । हेराल्ड पत्रिका कन्दिललाई वर्ष व्यक्तिको उम्मेदवार छनोट गर्नुको कारणबारे लेख्छ, ‘सामाजिक मान्यताविपरीतको जीवन र पितृसत्ताका कारण मृत्यु ।’ कन्दिलको एक मात्र दोष थियो— परिवारको सहमतिबिना उनले मोडलिङ पेसा चयन गर्नु । यद्यपि, उनको परिवार कन्दिलकै कमाइले बाँचिरहेको थियो । 

अनर किलिङ अर्थात् परिवारकै सदस्यबाट कथित इज्जत जोगाउन गरिने हत्या । पाकिस्तानमा परिवारको इज्जतको कारण देखाएर छोरी–चेलीको हत्या गरिनु एक आम चलनजस्तै छ । गुमेको इज्जत फिर्ता आउने मान्यताका साथ हुने यस्ता हत्यामा धेरैजसो पीडितका बाबु, दाजुभाइ या काका–मामा संलग्न हुने गर्छन् । 
केही महिनाअघि म पेसावरबाट इस्लामाबाद जाँदै थिएँ । पेसावरको टोलप्लाजा पार गर्नेबित्तिकै ड्राइभरको फोन बज्यो, उसले फोन उठाएर कुराकानी गर्‍यो । लगत्तै कुनै नम्बरमा डायल गरेर बोल्न थाल्यो । म अगाडिको सिटमा बसेर उसको हाउभाउ नियालिरहेको थिएँ । सय किमिभन्दा बढी प्रतिघण्टाको गतिमा गाडी गुडिरहेको छ, ऊ देब्रे हातले मोबाइल फोन र दाइने हातले स्टेरिङ समातेर पास्तो भाषामा चर्को स्वरमा कराइरहेको छ । एक छिनमा उसको अनुहारको भाव बदलियो, गाली गरेजस्तो गरी ऊ बोल्न छोडेर फोनमै चिच्याउनै थाल्यो । मैले गाडी किनारा लगाएर कुरा गर्न भनें । त्यसपछि ऊ गाडी किनारा लगाएर गाडीबाट झर्‍यो र पछाडिको टायरमा जोड–जोडले लात्ताले हान्दै चिच्याइरह्यो । ऊ शान्त भएपछि मैले घटना के हो भनेर सोधेँ । 

उसले श्रीमतीलाई पहिलो पटक नयाँ फोन किनिदिएछ र त्यसमा उनको मामाको छोराको फोन आएछ, त्यो कुरा ड्राइभरकी आमाले उसलाई सुनाइछन् । उसले श्रीमती र मामाको छोरा दुवैलाई फोन गरेर थर्काएको रहेछ । बाटोभरि उसले भनिरह्यो, ‘घर मात्रै पुगौं न, अनि त्यसलाई मैले जानेको छु ।’ म कल्पना गर्न सक्छु, अर्काले गरेको फोन उठाएकै कारण ड्राइभरकी श्रीमती पक्कै घरेलु हिंसामा परिन् होला । यसबाट बुझ्न सकिन्छ, साधारण पाकिस्तानी पतिहरूको पत्नीप्रतिको दृष्टिकोण र व्यवहार । 

विश्वभरिझैं पाकिस्तानमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चल्यो । अभियानको पहिलो दिन यहाँका पत्रिकाहरूमा अभियानबारे कुनै समाचार थिएन तर एक महिलाको हत्याको खबर थियो । स्टेज कलाकार किस्मत बैग कुनै कार्यक्रम सकेर लाहोरमा आफ्नो घर फर्किंदै थिइन्, उनलाई गोली हानी मारियो । पाकिस्तानमा महिलाहरू कला, सङ्गीत, अभिनय क्षेत्रमा लागेको केही पुरातनवादीलाई पाच्य छैन । यसबाहेक प्रतिबन्धित अतिवादी संगठनहरू त महिला घरबाहिर निस्कने कुराको खुलेरै विरोध गर्छन् र कतिको त हत्यासमेत गरिदिन्छन् । 

यहाँ घरभित्र महिलामाथि हुने हिंसा कति क्रूर र अमानवीय छ भन्ने उदाहरण गत वर्ष लाहोरको एक घटनाले देखाउँछ । लाहोरका खालिद मोहम्मदले गत वर्ष आफ्नी १२ वर्षीया छोरीले रोटी पकाउँदा गोलो नबनाएका निहुँमा कुटीकुटी मारेर नजिकैको अस्पताल छेउमा खाल्डो खनी गाडेका थिए । 
सन् २०११ मा नेपालमा गरिएको जनसंख्या तथा स्वास्थ्य सर्भेक्षणअनुसार १५ देखि ४९ उमेर समूहका २२ प्रतिशत नेपाली महिला कुनै न कुनै रूपमा जीवनमा एकपल्ट घरेलु हिंसाको सिकार भएको देखाउँछ । पाकिस्तानमा भने यो दर ७० देखि ९० प्रतिशत रहेको यहाँ सक्रिय संस्था औरत फाउन्डेसनको अध्ययनले देखाउँछ । महिला हिंसाका घटनाविरुद्ध सन् २०१४ मा १० हजारभन्दा बढी उजुरी परेको र योभन्दा बढी संख्यामा न्यायमा पहुँच नभएका पीडित महिला हुन सक्ने फाउन्डेसन दाबी गर्छ । अर्को डरलाग्दो तथ्याङ्क खोल्दै अध्ययन भन्छ, ‘पाकिस्तानमा सन् २०१४ मात्रै ३ हजार २ सयभन्दा बढी महिला घरेलु हिंसाका कारण मारिएका थिए र त्यत्तिकै संख्यामा अङ्गभङ्ग भएका थिए ।’ यिनमा अनर किलिङका नाममा अनाहकमा ज्यान गुमाउने २२ प्रतिशत थिए । 

विश्वभर नै महिलामाथि हुने हिंसामा समानता पाइन्छ— जसमा कुटपिट, यौनहिंसा, गाली बेइज्जती, अपहरण, बलात्कार, हत्या प्रमुख हुन् । पाकिस्तानमा भने यीसँगै ‘अनर किलिङ’ का नाममा हुने हत्या र एसिड प्रहार हिंसाको प्रमुख कारण देखिन्छ । परिवारको कथित इज्जत बचाउने नाममा शंकाकै आधारमा यस्ता हिंसामा निम्त्याइन्छ । पुरुष दम्भमा चोट लाग्नेबित्तिकै त्यसको सिकार महिला हुनुपर्ने विडम्बनापूर्ण अवस्था समाजमा अझै छ । 

इस्लामाबादमा गत साता म एक पाकिस्तानी र एक इथियोपियन सहकर्मीसँगै खाजा खाँदै थिएँ । उनीहरू दुवै अबिवाहित । कस्तो केटी बिहे गर्ने भनेर कुराकानी गर्दै थिए । पाकिस्तानी साथीले भन्यो, ‘हेर्दा सुन्दर, कम्तीमा ग्राजुएटेड होस्, घर सम्हालोस्, आमाबुवालाई सम्मान गरोस् ।’ अर्को साथी सोध्छ, ‘बाहिर काम गर्न नदिने भए त साक्षर या अनपढ नै बिहे गरे भइहाल्यो नि, किन चाहियो ग्राजुएटेड ?’ पाकिस्तानी साथीको उत्तर सुनेर हामी दुवै चकित भयौं । उसको जवाफ थियो, ‘श्रीमतीले काम गर्न थालिन् भने, मेरो र परिवारको आफन्त र साथीभाइबीच बेइज्जत हुन्छ ।’ मैले उसको सोचप्रति तत्कालै असहमति जनाएँ । 
पाकिस्तान मेडिकल एन्ड डेन्टल काउन्सिलको एक रिपोर्टअनुसार एमबीबीएस उत्तीर्ण ५० प्रतिशत पाकिस्तानी महिला जीवनमा कुनै अभ्यास या जागिर गर्दैनन् । झन्डै २५ लाखभन्दा बढी खर्च गरेर एक महिला स्वास्थ्य विज्ञान पास हुन्छिन्, नामको अगाडि डाक्टर लेखाउँछिन्, केवल कुनै पुरुषको इज्जत (?) का लागि । पढे–लेखेका पुरुष र परिवारको सोच नै बुहारी पढेकी आओस् तर काम नगरोस् भन्ने छ । जागिर गर्ने अविवाहितहरूको बिहे हुन मुस्किल या बिहे नै नभएका घटना धेरै यहाँ छन् । 

सञ्चार र प्रविधिले तीव्र विकास गरिरहेको अवस्थामा पाकिस्तान यसबाट पर रहने कुरा भएन । अहिले सबैका हातहातमा मोबाइल फोन छ । इन्टरनेटले एक–अर्कालाई जोडेको छ । कतिपयको मोबाइल फोन या सामाजिक सञ्जालका कारण प्रेम सम्बन्ध स्थापित हुन्छ, उनीहरू मन पराएको व्यक्तिसँग विवाह गर्न चाहन्छन् । त्यति बेला परिवार तगारो बन्छ । छोरीले प्रेम गरेको थाहा पाएर परिवारले अपमानित महसुस गर्छ । अनि सुरु हुन्छ हिंसाको सिलसिला जुन कतिपय अवस्थामा ‘अनर किलिङ’ मा गएर टुङ्गिन्छ । कतिपय अवस्थामा परिवारले खोजिदिएको केटासँग विवाह गर्न नमान्दाको परिणाम पनि उही हुन्छ । अर्को अचम्म, पाकिस्तानका तुलनात्मक रूपमा चेतना र विकासमा अगाडि मानिएका पन्जाब र सिन्ध प्रान्तमा ‘अनर किलिङ’ को दर बढी छ ।

प्रहरीसम्म पुग्ने यस्ता घटना त सहर–बजार या सुगम स्थानका मात्र हुन् । ग्रामीण र दुर्गम स्थानमा अझै ‘जिर्घा’ नामक परम्परागत निसाफ प्रणाली प्रचलनमा छ । जसमा सबै सदस्य पुरुष र पाका उमेरका हुन्छन् । उनीहरूको महिलाप्रतिको दृष्टिकोण पहिलेदेखि नै निर्दिष्ट हुन्छ, जसलाई महिलामाथि हुने हिंसाका घटनाले फरक पार्दैन, त्यसैले अधिकांश जिर्घाका निर्णयहरूमा मृतक या पीडित महिलाकै दोष देखाइन्छ । यसो भन्दैमा सबै जिर्घा खराब नै हुन्छन् भन्ने छैन । खैबर पख्तुनख्वा प्रान्तको मनसेरा जिल्लामा सबै सदस्य महिला मात्र रहेको जिर्घा हालै गठन गरिएको छ, जसलाई महिला हिंसाका घटना मात्र हेर्ने अधिकार छ । 

प्रकाशित : पुस ३, २०७३ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×