कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कांग्रेस बैठक र सरकारको छवि

श्रावण २९, २०८१
कांग्रेस बैठक र सरकारको छवि

यतिखेर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकले के कस्ता निर्णय गर्छ भनेर आम जनताले हेरिरहेका छन् । पार्टीहरूको छवि र साख नै उसले गर्ने निर्णयमा आधारित हुन्छ । महामन्त्री गगन थापाले महासमितिमा गरेको ‘चुनावमा कसैसँग गठबन्धन नगर्ने’ प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाइने र शेखर कोइरालाको समयमै महाधिवेशन गर्नुपर्ने प्रस्तावलाई अहिलेको बैठकले कुन रूपमा सम्बोधन गर्छ ?

त्यसैमा कांग्रेसको भविष्य पनि निर्भर रहन्छ । एउटै व्यक्ति लामो समय पदमा बस्दा ऊ तानाशाही हुने सम्भावना अधिक हुन्छ, जुन बंगलादेशमा शेख हसिनाले प्रमाणित गरिन् । यसर्थ विश्वप्रकाश शर्माको प्रस्ताव शतप्रतिशत सही छ । यो नै आम जनताको भावना पनि हो ।

अब कांग्रेसको भविष्य देउवाको हातमा होइन गगन–विश्वकै हातमा छ । यद्यपि देउवासँग केन्द्रीय कार्यसमितिमा अपार बहुमत छ । संख्याका आधारमा देउवाले गगन–विश्वहरूलाई सजिलै पेल्न सक्छन् । तथापि पार्टी पंक्तिभन्दा बाहिर देउवाको भन्दा बढी आकर्षण र जनमत तान्ने क्षमता गगन–विश्वसँगै छ । भोलि कुनै पनि दिन देउवासँग असहमति राखी हामी अब नयाँ कांग्रेस बनाउँछौं भनेर गगन–विश्वले भनेमा मूल कांग्रेस नै गगन–विश्वको नयाँ पार्टी हुनेछ । यो कुरा देउवाले बेलैमा बुझ्नु जरुरी छ ।

ओली सरकारले विगत २७ दिनमा गरेका काम र निर्णय, संघ र प्रदेशका मन्त्रीका अनुहार र विभिन्न भ्रष्टाचार काण्डमा कुनै पहल नभएको भन्दै विश्वप्रकाशले शनिबार एक कार्यक्रममा यस्तै शैलीमा सरकार चले भोलि कुनै पनि दिन अप्रिय घटना घट्न सक्छ भने । त्यसको सिधा अर्थ हो, ओली–देउवाले जनभावनाअनुरूप काम गर्न रुचि नदेखाए पार्टी नै फुटेर वर्तमान सरकार अल्पमतमा पनि पर्न सक्छ ।

यो सरकार ओली र देउवाको सहजताका लागि, विकृति विसंगति लुकाउन मात्र गठन भएको होइन भन्ने कुरा दुवै पार्टीका शीर्ष नेताले समय छँदै बुझ्नु राम्रो । दलका शीर्ष नेताहरूले अपराध पृष्ठभूमिका नेताहरूलाई मन्त्री बनाउँदा समस्त दल र सरकारप्रति नै वितृष्णा उत्पन्न भएको छ । यस विषयमा पनि जिम्मेवार दल र नेताहरूले अविलम्ब आ–आफनो पार्टीको केन्द्रीय कमिटीमा छलफल गर्नुपर्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, जोरपाटी

प्रकाशित : श्रावण २९, २०८१ १०:३२
x
×