विकासका अधिकांश काम आजका लागि भन्दा पनि भविष्यलाई मध्यनजर गरेर निर्माण गरिन्छ । त्यसकै एउटा उदाहरण हो, काठमाडौं उपत्यकाको चक्रपथ । यो चक्रपथ हिजो निर्माणका समयमा धेरैलाई अनावश्यक लागेको थियो । आवश्यकता र महत्त्व बुझी हिजै लगानी गरिएकाले आज सजिलो भएको छ ।
हाल तीन लेनमा विस्तार गरी राजधानी काठमाडौंसम्मको सवारी आवागमन व्यवस्थित बनाउन लागिएको नागढुंगा–मुग्लिन खण्डको सडक निर्माण कार्य सक्दा नसक्दै साँघुरो हुने र सवारी चाप धान्न नसक्ने अवस्थामा पुग्ने अनुमान छ । सम्भावित यो अवस्थालाई मध्यनजर गरी विभिन्न सञ्चारमाध्यम तथा विज्ञले तत्काल आउने चुनौतीको सामना गर्न त्रिशूली नदीको पारिबाट वैकल्पिक मार्ग निर्माणको आवश्यकता औल्याउँदै आएका छन् ।
विश्व बैंक पनि यसमा लगानी गर्न इच्छुक रहेको भनिएकाले राज्यले तत्काल यस विषयमा सम्बोधन गर्न आवश्यक छ । जहाँसम्म मुआब्जाको कुरा छ, राज्यले आँट्यो भने यो कुनै ठूलो कुरा होइन । दुई ठूला दल मिलेर बनेको दुई तिहाइ बहुमतको सरकार पनि दीर्घकालीन भविष्यका लागि वरदान हुन सक्ने योजनाहरू ल्याउन र कार्यान्वयन गर्न तिघ्रा कमाउँछ भने देश निर्माण असम्भव छ । नारा र भाषणमा मात्र समृद्धिको गफ हाँक्नु भनेको कागलाई बेल पाक्यो, हर्ष न विस्मात् भनेजस्तै हो । त्यसैले आवश्यकताका आधारमा विकल्प खोज्न रत्तिभर ढिला नगरौं ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ