कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रधानमन्त्रीज्यू, गरिबको आवाज सुन्नु हुन्न ?

श्रावण २८, २०८१
प्रधानमन्त्रीज्यू, गरिबको आवाज सुन्नु हुन्न ?

टाउकोबाट चुहिएको पानी नाकको डाँडी हुँदै दुवै गालामा तर्केका । त्रिपालको फेर समाउँदै थिए, दानबहादुर गौतम । बाहिर झरी छ । जाने ठाउँ कहीँ छैन । त्यही त्रिपालले आफू भिजेर परिवारलाई ओत दिइरहेका थिए उनी । यो दृश्य देखिरहँदा साउन १ गते कान्तिपुरमा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आज मेरो मनमा के छ ?’ भन्ने शीर्षक लेखको याद आयो । मनमा धेरै प्रश्न उब्जिए ।

सरकारका प्रमुखचाहिँ– मान्छे गरिब भए, खान पाएनन्, जनताको टाउको लुकाउने झुपडी भएन भनेर चिन्ता गर्ने । उता गरिबको झुपडी भत्काउने ? धनगढी उपमहानगरपालिका–१ शीतल बस्तीमा ११ घर सुकुम्बासी २२ वर्षदेखि बसोबास गर्दै आएका छन् । उनीहरूलाई न्याय दिनुपर्ने स्थानीय सरकार आफैं बिनाविकल्प सुकुम्बासीको बस्ती उठाउँदै हिँड्छ । गरिबको झुपडी उठाउँदा कुनै पनि राजनीतिक दल बोलेनन् । उनीहरूसँग चोचोमोचो मिलाएर नै उठीबास गराएका त हैनन् ?

नत्र व्यवस्थापनका लागि किन दलहरू उदासीन देखिए ? यो बस्तीको कहालीलाग्दो दृश्य देखेर देशका बागडोर सम्हाल्ने शासकहरूलाई प्रश्न गर्न मन छ । के भूमिहीन मान्छे होइनन् ? किन सधैं भूमिहीनहरूको बस्ती उजाड पारिन्छ ? भूमि आयोग बन्दा त्यही जमिन नापिन्छ । फेरि त्यही जमिनमा बस्ने सुकुम्बासीलाई उठीबास किन ? शीतल बस्तीका सुकुम्बासीहरूको मुन्टो लुकाउने ठाउँ थियो त्यो ।

त्यहीं बसेर उनीहरू जीविकाका लागि चर्न जान्थे । तर आज न टाउको लुकाउने ठाउँ छ, न जाने स्थान । ज्येष्ठ नागरिक, महिला र बालबालिकाको बिचल्ली छ । प्रधानमन्त्रीज्यू, तपाईं साँच्चै महान् हुनुहुन्छ र गरिबको आवाज सुन्नुहुन्छ भने उठीबासका घटना रोकियोस् । र, ती ११ घर सुकुम्बासीलगायत देशभरको भूमिको समस्या समाधान गर्न प्रक्रिया अघि बढाइयोस् ।
– पातली थामी, कोषाध्यक्ष, राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल

प्रकाशित : श्रावण २८, २०८१ ०६:५३
x
×