कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उकुसमुकुसमा प्रचण्ड

श्रावण २८, २०८१

एकाएक हुनुपरेको सत्ता बहिर्गमनको पीडा भुल्न नसकिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्थायी कमिटी सदस्यहरूले उठाएका अनेकौं प्रश्नको सामना गर्नुपरेको छ । नेतृत्वमाथि नै प्रश्न उठ्न थालेपछि उनी यतिबेला अप्ठ्यारोमा छन् ।

पार्टीलाई सत्ता केन्द्रित गराएको, सत्ताकै लागि पटकपटक गठबन्धन परिवर्तन गरेको र जसले गर्दा पार्टीको अस्तित्व नै समाप्त भएको जस्ता आरोप उनीमाथि लागेका छन् । हुन पनि आफू प्रधानमन्त्री बन्न र प्रधानमन्त्री भएपछि कुर्सी जोगाउन कुनै कसर बाँकी राखेनन् । करिब डेढ वर्षको उनको कार्यकालमा उल्लेख्य काम हुन पनि सकेन । उनले कांग्रेस र एमालेसँग गठबन्धन बदलिरहे र आफ्नै कारण पाँच–पाँच पटकसम्म संसद्मा विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना गराए ।

मोहन वैद्य र बाबुराम भट्टराई पार्टीबाट अलग भएपछि पार्टीमा एकछत्र हाबी भएका प्रचण्डलाई पार्टीभित्रै यसरी प्रश्नैप्रश्नको घेराबन्दीमा पारिएको सम्भवतः यो पहिलो पटक हो । प्रचण्डकै नेतृत्वमा माओवादी तत्कालीन संविधानसभामा सबैभन्दा ठूलो दल भएको थियो । त्यसपछि उनैको नेतृत्वमा ओरालो लागेको पार्टीलाई उनैको नेतृत्वमा माथि ल्याउन सम्भव देखिँदैन ।

आफू संसदीय राजनीतिमा आएपछि पार्टी र जनताभन्दा पनि सत्तालाई केन्द्रमा राखेर अगाडि बढेका प्रचण्डको पछिल्ला अभिव्यक्तिले आगामी दिनमा उनको सत्ता यात्रा सकिएको भन्ने उनी आफैंले महसुस गरेको बुझिन्छ । पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुरा उठिरहेका बेला सत्ता बहिर्गमनलगत्तै पार्टी नेतृत्वबाट पनि बाहिर रहनुपरेमा त्यसको नकारात्मक सन्देश जाने उनको अभिव्यक्तिले उनमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने महसुस अझै देखिँदैन ।
–सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : श्रावण २८, २०८१ ०६:५३
x
×