कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एउटै पदमा कतिन्जेल लिप्त ?

श्रावण २८, २०८१

नेपालका राजनीतिक दलका नेताको सबभन्दा ठूलो समस्या भनेकै एउटै व्यक्ति पार्टी नेतृत्वमा सधैं बसिरहने । भिजन छैन, उद्देश्य छैन, देश र जनताप्रति के गर्नुपर्छ भन्ने सोच छैन । जसरी भए पनि पार्टी नेतृत्वमा बस्नुपरेको छ । यसरी देशले कसरी राजनीतिक निकास पाउँछ ? कार्यकर्ताको चाहना के छ भन्दा पनि आफ्नो चाहना के छ भन्नेमै प्रमुख नेता केन्द्रित छन् ।

मैले पदमा बसेर के गरेँ भनेर नेताहरूले आत्मसमीक्षा गरेको पाइँदैन । कांग्रेसको कुरा गर्दा गिरिजाप्रसाद कोइराला पार्टी सभापति भए र पाँच पटक प्रधानमन्त्री भए । जब उनी अशक्त भए तब मात्र कांग्रेसबाट सुशील कोइरालाले अवसर पाए ।

शेरबहादुर देउवाले वर्षौंदेखि पार्टी सभापति ओगटिरहेका छन् । पाँच पटकसम्म प्रधानमन्त्री भइसके । अब उनी नै प्रधानमन्त्री बन्ने लाइनमा छन् । एउटै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने, कति पटक पार्टी सभापति खाने ? कम्तीमा त्यागको राजनीति गरेर दोस्रो पुस्तालाई पद हस्तान्तरण गरे हुँदैन ? शरीरले नसक्दा वृद्धावस्थामा पनि पद नै चाहिएको किन होला ? कांग्रेसमा मात्र होइन एमालेभित्र पनि त्यही समस्या छ ।

आफूलाई परिवर्तन कसरी भन्नेमा माओवादीभित्र पनि समस्या छ । ३५ वर्षदेखि अध्यक्षको भूमिकामा रहेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नै तीन पटक भइसके अझ अवसर पाए किन छाड्थे ? यसरी तीन नेताको वरिपरि मात्रै प्रधानमन्त्रीको कुर्सी घुमिरहने हो भने जनताको निराशा अझ बढ्छ । नेताको अवस्था त परिवर्तन होला तर देशको अवस्था झन् कमजोर बन्दै जान्छ । सत्ताको वरिपरि राजनीतिक फेरो मारेर बसेका नेताहरूले विचारको राजनीति गर्न सकून्, जनतालाई केन्द्रमा राखेर विकास गरून् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : श्रावण २८, २०८१ ०६:५२
x
×