कान्तिपुर दैनिकमा साउन १६ मा प्रकाशित ‘जनधनको क्षति, नेपाली आकाशको बदनामी : वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?’ शीर्षकको समाचारले मन पोल्यो । किनभने साउन ९ गते पूर्ण परीक्षणका लागि पोखरा उड्ने सौर्य एयरलाइन्सको सीआरजे विमान काठमाडौं विमानस्थलबाट उड्नासाथ दुर्घटनाग्रस्त भयो । जसमा १८ जनाले ज्यान गुमाउनुपर्यो ।
क्याप्टेनको भने घाइते अवस्थामा उद्धार गरियो । सौर्यको विमान दुर्घटनासँगै नेपाली आकाश सुरक्षित नभएको अन्तर्राष्ट्रिय अवधारणालाई बलियो प्रमाण बनेको छ । तर, नियामक निकायलाई कुनै चासो लागेको देखिन्न । बितेका १० वर्षभित्रै हेलिकोप्टर ३९, फिक्स्ड विङ ५१, एकल इन्जिन भएका ८ तथा विदेशी वायुसेवाका १० वटा गरी १ सय ८ वटा विमान खसिसकेका छन् भने स्वदेशी र विदेशी गरी ९ सय ५९ जना नागरिकले अकालमै मृत्युवरण गरिसकेका छन् ।
हरेक दुर्घटना हुनासाथ सरकार छानबिन आयोग बनाएर मृतकका आफन्तलाई थामथुम पार्छ, आयोग बनाएपछि आनन्द ! उता आयोगले प्रतिवेदन बुझाउँछ, भत्ता, सुविधाले डकार्छ, प्रतिवेदन दराजको कुनामा थन्काएर राखिन्छ । यसबाट राष्ट्रकै बदनाम भएकोतर्फ सरकारलाई मतलब नै छैन । यसरी हुने दुर्घटनामा नियमन गर्न नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न तेर्सिन्छ, तर हवाई सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले औंल्याएका विषय तथा सुझाव कार्यान्वयन त परैको कुरा अध्ययन गर्ने चासो पनि लिन्नन् ।
पछिल्लो उडान सुरक्षा प्रतिवेदनअनुसार सन् २०१३–२०२२ मा भएका १२ दुर्घटनामध्ये ९३ प्रतिशत कन्ट्रोल फ्लाइट इन्टु टेरेनका कारणले पाइएको छ विमान उडिसकेपछि अनायस बादलभित्र हराउनु, जहाजको उपकरण/इन्जिन फेल हुनु, चरासँग ठोक्किनु, आगलागी हुनु, चट्याङ तथा इन्धनका कारण हुने दुर्घटनाभन्दा पनि हाम्रो आकाशमा उड्नुपूर्व र अवतरणमा गरिनुपर्ने व्यवस्थापकीय लापरबाहीका कारण दुर्घटना भएको देखिन्छ ।
त्यसैले २०६९ सालको सीता एयरको जहाज मनोहरामा दुर्घटना भएको एक वर्षपछि युरोपियन युनियनले नेपाली आकाश असुरक्षित भनी कालोसूचीमा राखेको छ । सौर्यको हालैका दुर्घटना लापरबाहीकै कारण भएको भन्न सकिन्छ । पूर्ण परीक्षणका लागि लगिएको विमानमा सीमित प्राविधिक र इन्जिनियरबाहेक १९ जनालाई उडान गर्न किन अनुमति दिइयो ?
यसको जिम्मेवारी कसले लिने ? प्राधिकरणका महानिर्देशकले विमानको अवस्था हेरेर मात्र उड्न अनुमति दिनुपर्नेमा नाबालकसमेतलाई उडाउनमा रोक लगाउनुपर्छ कि पर्दैन ? दुर्घटनापश्चात् गठन गरिने छानबिन समिति वा आयोगका सुझावलाई कार्यान्वयन गरिनुको साटो किन थन्काएर राखिन्छ ? यस्ता व्यवस्थापकीय कमजोरी र थुप्रै लापरबाहीका कारण नेपाली आकाश असुरक्षित राख्ने महानिर्देशक र उडान योग्य भए/नभए पनि अनुमति दिने प्राविधिक नै हुन् ।
– गंगाराज अर्याल,
पाणिनि–८, पाली अर्घाखाँची