बालबालिकादेखि माथिल्लो तहका विद्यार्थीलाई मुलुकबारे सामान्य ज्ञान, संस्कार, नैतिक शिक्षाबाट टाढा राख्ने शिक्षा नीतिका कारण त्यसको नकारात्मक असर यत्रतत्र देखिन थालेको छ । सानोदेखि माथिल्लो तहका विद्यार्थीलाई मर्यादाक्रम, अनुशासनको आभाष नहुँदा तालाबन्दी, तोडफोड, शिक्षकलाई कुट्नेजस्ता निकृष्ट कार्य त्रिभुवन, संस्कृत विश्वविद्यालयजस्ता उच्चस्तरका शिक्षण संस्थामा बारम्बार देख्न सकिन्छ ।
उता विभिन्न राजनीतिक दलसँग आबद्ध संघसंगठन सरकारी, गैरसरकारी क्षेत्रमा आफ्नो अधिकार प्राप्तिका लागि परिचालन गरिँदै आएको छ । तर त्यहाँभित्रका पदाधिकारीहरू सरोकारवालाको भलाइभन्दा व्यक्तिगत स्वार्थमा लाग्ने गरेका प्रमाण अनगन्ती छन् ।
जस्तोः लामो समयदेखि निजामती कर्मचारी संघ, संगठनका पदाधिकारी बढी सक्रिय हुँदा बढुवा, सरुवा प्रणाली क्षतविक्षत बनेको, आफू सुगम ठाउँमा बसेर हैकम जमाउने तर राजनीतिक पहुँच नहुने, पैसा खर्च नगर्ने कर्मचारीलाई सधैं दुर्गम ठाउँमा धकेल्ने गुनासो सर्वत्र सुन्न सकिन्छ । कर्मचारीका नेताहरू उद्दण्ड, अनुशासनहीन बनेर आफ्नो स्वार्थसिद्धिका लागि सचिव एवं अन्य उच्च पदस्थ कर्मचारीमाथि हातपात गर्न पनि पछि पर्दैनन् ।
अनुशासन, उत्तरदायित्व सबैले भुल्दै गए । अहिले इमानदार, कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्नेहरू मुटु कमाएर बाँच्नुपर्ने अवस्था सिर्जना भएको छ । क्रोध, आक्रोश र हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने कुसंस्कार व्याप्त बनेको छ । अस्पतालमा कोही कालगतिले बित्यो भने चिकित्सकमाथि हातपात गर्ने, तोडफोडमा उत्रन पछि नपर्नेलगायत क्रूरतापूर्ण गतिविधिबाट अहिले अधिकांश चिकित्सक त्रस्त बनेर भागाभागको अवस्थामा पुगेका छन् ।
शैक्षिक क्षेत्र लथालिंग छ भने खुराफाती नेतृत्वको उक्साहटमा नदीनाला, खोलाको छेउ, सडक किनारमा पकड जमाएर बसोबास गर्ने चलन व्याप्त छ । मुलुकमा देखिने यी र यस्तै कानुन मिचाहा, हिंसात्मक गतिविधिलाई मानवअधिकारको संज्ञा दिएर बर्बराउने व्यक्ति पनि सर्वत्र देखिने गर्छन् । नेतृत्व एवं सर्वसाधारण कर्तव्यच्युत भइरहँदा मुलुकको ओरालो यात्रा कहिल्यै रोकिने छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं