अत्यावश्यक पेट्रोलियम पदार्थको मूल्यमा राहत दिनुको सट्टा चर्को नाफा राखेर उपभोक्ताको ढाड सेक्ने गरी बिक्री मूल्य तोकेर नाफा कमाउने रणनीति आयल निगमको सरासर गलत हो । हिजो घाटामा जाँदा मूल्यवृद्धि गरेको निगमले अहिले नाफामा जाँदा जनतालाई राहत दिनुपर्छ । हिजो घाटामा रहँदा निगमले मूल्यवृद्धि गरेको होइन ? अब नाफामा जाँदा जनतालाई राहत दिन पर्दैन ? अर्को कुरा, जनताले बढी मूल्यमा तेल हालेर निगम नाफामा पुगेको हो ।
तर, आयल निगमका प्रबन्ध निर्देशक गर्व गरेर भन्छन्, ‘आयल निगमलाई मैले फाइदामा लगें ।’ यस्ता विषयमा संसद्मा बहस हुनपर्यो, खालि कुर्सी तानातानको खेल खेलेर मात्र भएन । जे गर्दा पनि निरीह जनता नबोल्ने भएपछि आयल निगमले जे गर्दा भइहाल्यो । निगमले खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा नाफा राखेर बेच्ने सोच बनाएको भन्ने समाचार आएको छ । निगम त्यत्तिकै फाइदामा छ भने उल्टो नाफा राखेर बेच्नचाहिँ किन पर्यो ?
हरेक क्षेत्रबाट लुटिने भनेको जनता नै हो । जनतालाई राहत दिनुपर्छ भनेर सरकारले त सोचेन भने निगमले कसरी सोच्ला ? यस वर्ष ८.३४ अर्ब नाफा गर्ने लक्ष्य राखेको निगमले जनताको ढाड सेक्न मिल्दैन । नाफा हुँदा कर्मचारीलाई बोनस दिने निगम घाटा हुँदा सरकारले बेहोर्नुपर्छ । अहिले स्वचालित मूल्य राखेर पेट्रोलियम पदार्थ बेच्न थालेपछि लगातार निगम नाफामा जान थालेको छ । यसलाई गलत मान्न सकिएन तर भारतमा भन्दा दोब्बर बढी मूल्य राखेर तेल बेच्नचाहिँ पाइएन नि !
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं