कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युवा कहिलेसम्म गुम्सिएर बाँच्नुपर्ने ?

श्रावण २१, २०८१

राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका युवा जनशक्तिलाई आफ्नो जहान परिवारको भोको पेट भर्न र नांगो आङ छोप्न विदेशिनुपर्ने बाध्यता छ । विदेशिने क्रममा दलालको फन्दामा परेर कैयौं घर न घाटका भएका छन् । कैयौं विदेशमा अलपत्र छन् । कैयौं विदेशी जेलमा सडेका छन्, कति त फाँसीमा चढेका छन् ।

हजारौं विदेश जाने क्रमसँगै दर्जनौं शव बाकसमा फर्किएका छन् । अनाहकमा तिनका हजारौं बालबालिका टुहुरा भएका छन् । यस्ता टिठलाग्दा यथार्थ सबका सामु घामजस्तो छर्लंग हुँदाहुँदै पनि यहाँ कसैको मन पोल्दैन । कसैको छाती चर्किंदैन । एक चिम्टी खुसी भर्न आफू जन्मेको माटो छाडेर युवा जनशक्ति बाहिरिएपछि स्थानीय तहका गाउँ/टोल उजाड भएका छन् । जमिन बाँझै छन् । गाउँमा वृद्धवृद्धा र रोगीबाहेक कोही छैनन् । कसैको मृत्यु हुँदा गाउँमा लास उठ्नेसम्मको स्थिति छैन ।

यसरी डरलाग्दो ढंगले गाउँ रित्तिन लाग्दा पनि सरकारको संवेदनशीलता रत्तिभर देखिँदैन । गरिब र अभावमा पिल्सिएका युवा कष्टकर जीवन घिसार्दै यत्रतत्र हिँडिरहेको देख्दा पनि सरकार तमासा हेरेर बसिरहेको छ । स्वदेशमा बचेखुचेका युवालाई यहीं रोक्नुको सट्टा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराएर विदेशिन प्रोत्साहित गरिरहेको छ ।

हुन त युवालाई स्वदेशमै रोक्न सक्ने नीतिनियम निर्माण गर्ने तह र तप्कामा पुग्नेहरू नै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै अर्बौंको ठगी प्रकरणमा संलग्न हुने देशमा कोसँग आस गर्ने ? हरेक शासन व्यवस्थाले युवाको उपयोग मात्रै गर्‍यो, उपकार गर्न सकेन । त्यही कारण युवापंक्तिमा निराशा र कुण्ठा चुलिएको छ । युवाहरू वर्षौंसम्म जमेको इनारजस्तो निकासहीन भएर कहिलेसम्म यो देशमा बाँचिरहनुपर्ने हो ? लोकतन्त्रले नेताबाहेक कहिल्यै कसैको कल्याण गरेन । आखिर गरिब जनताका लागि लोकतन्त्र कहिले आउँछ ?
– गम्भीरजंग आचार्य, सुनकोशी गाउँपालिका–५, सिन्धुली

प्रकाशित : श्रावण २१, २०८१ ०९:२६
x
×