कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र

श्रावण २०, २०८१

एसईईको नतिजा गत असार १३ गते प्रकाशित भएको थियो । सो परीक्षामा ४ लाख ४४ हजार ७ सय ८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ ले मात्र ग्रेड प्राप्त गरे ।

परीक्षा बोर्डको कार्यालयले परीक्षामा सम्मिलित ६ सय २१ जना विद्यार्थीको अंक तलमाथि पारेर नतिजा प्रकाशित गरेको प्रमाण कान्तिपुर पत्रिकामार्फत पढियो । शुक्रबार कक्षा १२ को नतिजा पनि प्रकाशित भयो र झन्डै ५० प्रतिशत विद्यार्थी उच्च शिक्षाका लागि अयोग्य भनेर विभिन्न मिडियामा पढियो । ३ लाख ९० हजार ८ सय ६८ ले परीक्षा दिएकामा २ लाख ३ हजार ८ सय ४७ पास र बाँकी फेल भनेर शनिबारको कान्तिपुर दैनिकमै पढियो ।

अझै पनि हाम्रो शिक्षा प्रणाली ‘घोकन्ते विद्या, धावन्ते खेती’ अनुसार चलेको छ । हामी गरिब देशका जनता अझै पनि पुरानै सैद्धान्तिक शिक्षा प्रणालीमा निर्भर छौं । हरेक तहका पाठ्यक्रम बाजेका पालाका देख्न पाइन्छ । समयअनुसार संशोधन गरिँदैन । विदेशमा जस्तो सैद्धान्तिक शिक्षालाई भन्दा व्यावहारिक शिक्षामा जोड दिनुपर्छ ।

प्लम्बिङ, हाउस वायरिङ, खेतबारीमा पनि आधुनिक कृषि प्रणाली, तरकारी खेतीमा आधुनिकता जस्ता धेरै कार्यमा हामी मन दिँदैनौं । तर हाम्रा खेतबारी तथा घर/पसलमा भारतीय श्रमिक आएर काम गर्छन् । पहाडी इलाकामा खेतीबाली लगाउनदेखि थन्क्याउनसमेत भारतीय नागरिक प्रशस्तै भेटिछन् । तर हाम्रा युवालाई स्वदेशमा भए कलम समाउने जागिर अन्यथा प्लस टु सकेपछि विदेश हेलिने रोगले ग्रस्त बनाएको छ । एकातिर सैद्धान्तिक रटानमा हरेक तहमा पास हुने विद्यार्थीको संख्या धेरै न्यून भइराखेको छ भने अर्कोतिर अध्ययनमा अब्बल विद्यार्थी प्लस टु सकेर स्वदेशमा बस्न रुचाउँदैनन् ।

यसमा अहिले देखिएका मुख्य समस्या भनेको राजनीतिक रूपमा डिनको कार्यालयदेखि तल्लो तहसम्म प्रशासनिक भागबन्डा, घोकन्ते रटानलाई प्राथमिकतामा राखी व्यावहारिक शिक्षामा जोड नदिइनु हो । यस्तै, डिजिटल टेक्नोलोजीको दुरुपयोग, मोबाइलको लत पनि अर्को कारक हो । अभिभावक खर्च गर्ने तर आफ्ना बालबालिकाको प्रगति विवरणमा ध्यान नदिने, कतिपय शिक्षकमा देखिएको अयोग्यताले पनि समस्या थपेको छ । यसमा सम्बन्धित क्षेत्रका विज्ञ बसेर दीर्घकालीन समाधान खोजियो भने सुधार आउन सक्छ ।

खिमराज गिरी, काठमाडौं

प्रकाशित : श्रावण २०, २०८१ ११:००
x
×