कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सवारी लाइसेन्समा नयाँ झन्झट

पाठक पत्र

सरकारले आगामी साउन १ देखि सवारी चालक अनुमति पत्र वितरण बन्द गर्ने र सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने अरे भन्ने समाचार सुनेर अचम्म लाग्यो । सरकारले बिना आधार, बिना अनुसन्धान हचुवाका भरमा जे पायो त्यही निर्णय गर्दा त्यसको प्रत्यक्ष असर आम नागरिकलाई हुने निश्चित छ । उदाहरणका लागि मैले मोटरसाइकल चालकको अनुमति पत्रका लागि ट्रायल उत्तीर्ण गरेको करिब डेढ वर्ष भइसक्यो । म रसिदकै भरमा सवारी चलाएर हिँडिरहेको छु । स्मार्ट लाइसेन्स छापेर दिन सरकारले अझै कति वर्ष लगाउँछ, टुंगो छैन ।

राष्ट्रिय परिचय पत्रका लागि मैले बायोमेट्रिक दिएर बसेको त झन् करिब दुई वर्ष हुन लागिसक्यो, हात पर्ने दिनको कुनै अत्तोपत्तो छैन । सरकार भन्छ– छापेका राष्ट्रिय परिचय पत्र लिन कोही आएनन् । अब सामाजिक सुरक्षा भत्ता लिन आउँदो साउनबाटै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने रे अनि लाइसेन्सलाई समेत राष्ट्रिय परिचय पत्रमा समावेश गर्ने गरे ।

सरकारको यस्तो निर्णयका कारण सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अशक्त, अपांगता भएकाहरू सबैभन्दा बढी मर्कामा पर्छन् । राष्ट्रिय परिचय पत्र बनाउन बायोमेट्रिकका लागि अक्सिजन सिलिन्डर जोडेर जिल्ला प्रशासन कार्यालयमा लाइन बसेको कारुणिक दृश्य यत्रतत्र देखिन्छन् । म जस्ता लाखौं आम नागरिकले सबै प्रक्रिया पूरा गरी राष्ट्रिय परिचय पत्र र स्मार्ट लाइसेन्स लिन कुरेको वर्षौं भइसकेको छ ।

खोइ त हामीलाई वितरण गरेको ? अबको २ महिनाभित्रमा सबैको हातमा राष्ट्रिय परिचय पत्र चैं कसरी आइपुग्छ ? सरकार न समयमा राष्ट्रिय परिचय पत्र दिन सक्छ न सवारी चालक अनुमतिपत्र । पर्याप्त तयारीबिना यस्ता निर्णय लागू गर्न सरकारलाई किन हतार भएको होला ?
– पूर्णबहादुर थापा, मन्थली–४, रामेछाप

प्रकाशित : असार ६, २०८१ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×