कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राजनीतिका लागि राजनीतिक चेत र जनमत

पाठक पत्र

लामो समयदेखि पुराना राजनीतिक दलहरू (मुख्यतः कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी) ले राजनीतिमा हालीमुहाली गरिरहेको अवस्थामा वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भाग लिएर नेकपा माओवादीले औपचारिक रूपमा संसदीय राजनीतिमा आफूलाई सामेल गरायो ।

तत्कालीन अवस्थामा नयाँ शक्तिका रूपमा संसदीय राजनीतिमा भित्रिएको माओवादीले आफूलाई संविधानसभाको सबैभन्दा ठूलो दलका रूपमा स्थापित गरायो । पहिलो दलको हिस्सा पाएको हुनाले उसैले सरकारको नेतृत्व गर्‍यो । जनताले विश्वास गरेर दिएको मतलाई उसले जनअपेक्षामा परिणत गराउन सकेन ।

यसो हुनुमा राजनीतिक परिपक्वताको कमी र सत्ता सञ्चालनको ज्ञान नभएको भनेर धरैले विश्लेषण गरेका थिए । राजनीतिमा जनमत मात्रै भएर नपुग्दो रहेछ, नेतृत्वकर्ताले त्यसको महत्त्व बुझेन र जनमतलाई नै सर्वेसर्वा ठानेर हौसियो भने त्यो आत्मघाती हँॅदो रहेछ भन्ने उदारहण हो माओवादी केन्द्र ।

०६४ को निर्वाचनमा ठूलो बनेको माओवादीको ओरालो यात्रा निरन्तर छ । प्रचण्डले जुक्ति लगाएर राजनीतिक गठबन्धनको पासा फालेर त्यसैलाई आजसम्म निरन्तरता दिएकै कारण माओवादी आजसम्म पनि राजनीतिमा स्थापित देखिएको हो । एक्लाएक्लै निर्वाचन लडेको भए सम्भवतः आज माओवादीको हैसियत नेकपा माले, राष्ट्रिय जनमोर्चा या नेपाल मजदुर किसान पार्टीकै हाराहारीमा पुगिसकेको हुने थियो ।

२०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि संघीय नेपालको पहिलो नयाँ राजनीतिक शक्तिका रूपमा नयाँ शक्ति नेपाल उदाएको थियो । राजनीतिको राम्रो विश्लेषण गर्न सक्ने, राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय राजनीतिको समेत गहिरो चेत भएका र राजनीतिलाई राम्ररी बुझेका बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर खोलेको उक्त दलले राजनीतिमा जरा टेक्नै सकेन ।

२०७४ मा भएको पहिलो संघीय निर्वाचनपछि उनको दलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भट्टराई एक्ला सांसद भए । यसले के देखाउँछ भने राम्रो राजनीतिक पृष्ठभूमि भए पनि जनताले विश्वास गरेनन् भने राजनीतिमा टिक्न गाह्रो पर्दोरहेछ ।

२०७९ को दोस्रो संघीय निर्वाचनसम्म आइपुग्दा अन्य तीन दल संसदीय राजनीतिमा उदाए । छोटो समयमा सबैभन्दा बढी जनताको मनमा बस्न सफल भएको राजनीतिक दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । यो दलको नेतृत्वमा रहेकादेखि दोस्रो तहका नेता कसैसँग पनि राजनीतिक पृष्ठभूमि यथेष्ट नभएको देखिन्थ्यो ।

सञ्चार क्षेत्रको प्रभावका कारण राजनीतिमा सफल भएको रास्वपाले जनताको मन त जित्यो तर राजनीति गर्ने ढङ्ग पुर्‍याएको देखिँदैन । नयाँ शक्ति र रास्वपामा ठीकविपरीत यही थियो । नयाँ शक्तिमा राजनीतिक भिजन थियो, जनमत भएन । रास्वपामा जनमत थियो तर राजनीतिक चेत भएन ।

यसैले रास्वपाले प्राप्त गरेको जनमत बिस्तारै ओरालो लाग्ने क्रममा रहेको देखिन्छ । रास्वपासँगै उदाएका अन्य दुई दल हुन्– नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत । यी दलको पनि राजनीतिक पृष्ठभूमि त्यति राम्रो भएको देखिँदैन । नयाँका नाममा उदाएका यी दलहरू पनि पदकै लागि मरिहत्ते गरेको देख्दा उनीहरूमा पनि पुराना दलमा भन्दा फरकपन देख्न सकिएको छैन । नाउपा त पदकै लागि फुटको डिलसम्म पुगिसकेको छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : असार ४, २०८१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×