कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

गाउँ बनाउने कसरी ?

पाठक पत्र

उपत्यकामा जन्मेर उपत्यकामै सरकारी जागिर खाँदै गरेका एक नयाँ साथीसँग कुराकानीका क्रममा मैले भनें, ‘मेरो घर ओखलढुंगा हो । मेरो गाउँमा त पानीको अति नै दुःख छ ।’ उनले सजिलै भने, ‘खन्दा भैगो नि, केको दुःख !’
‘उता त्यसरी पानी आउँदैन नि,’ मैले स्पष्ट पारें ।
“खनेको खनेकै गरेपछि आइहाल्छ नि,’ उनले हार्न मानेनन् ।

गाउँ बनाउने कसरी ?

मैले जति भने पनि साथीले मेरो कुरो पत्याएनन् । युरोप, अमेरिकातिर घुमेका ती साथीलाई आफ्नै देशको पहाडी क्षेत्रमा खनेर पानी आउँदैन भन्ने कुराचाहिँ थाहा रहेनछ । उनले ठट्टा गरेका हुन् कि जस्तो पनि लाग्यो । होच्याएको जस्तो पनि लाग्यो । उनीसँगको थप कुरा गराइपछि निष्कर्षका पुगें, ‘विदेश घुमे पनि, साथी स्वदेशचाहिँ घुमेका रहेनछन् ।’

धेरै सहरियालाई यतिसम्म चाहिँ थाहा छ– गाउँमा ज्यादै दुःख हुन्छ । त्यसैले शिक्षक सेवा आयोग/लोक सेवा आयोगबाट नाम निकालेर पनि उनीहरू त्यता गएर जागिर खाने आँट गर्न सक्दैनन् । केही दिन बसेर सहर फर्केकाहरूले दुःखको बेलिविस्तार गर्छन् । सधैंभरि त्यहाँ बस्नेको अवस्था कस्तो होला ?

त्यसो त गाउँ–गाउँमा बाटो पुग्दै छ । बिजुली विस्तार हुँदै छ । तर त्यहाँ खानेपानीको दुःख छ । खेती लाउन जनशक्तिको अभाव छ । लाइहाले पनि जंगली जनावरबाट जोगाउन गाह्रो छ । जोगाउन सके पनि बजारको अभाव छ । पढ्नका लागि सहरतिर जानैपर्‍यो । जागिर खान सहर जानैपर्‍यो । स्वास्थ्य उपचारका लागि पनि सहर जानैपर्‍यो ।

‘राम्ररी पढिनस् भने पछि हली होलास्’ भनेर सानैदेखि चेतावनी पाएको युवा, पढेपछि गाउँमा आएर खेतीपातीको काम गर्न चाहँदैन । इन्जिनियर/डाक्टर/पाइलटले गाउँमा गएर के काम गर्नु ! त्यसैले गाउँ बिस्तारै जंगलमा परिणत हुँदै छ ।

सरकारले चाहे शिक्षित युवालाई गाउँमा टिकाएर र सहरकालाई पनि त्यता पठाएर कृषिमा यान्त्रिकीकरण गर्न सक्छ । फलफूल, नगदे बाली, जडीबुटी लगाउने कार्यक्रम बनाउन सक्छ । तर युवा पनि विदेश जान चाहने र सरकारले पनि तिनलाई प्रोत्साहन दिने खालको नीति बनाउने भएपछि यस्ता कामकुरा हुने कुरै भएन ।

विकास देखाउन कतिपय गाउँमा भ्युटावर ठड्याइएका छन् । मन्दिर नबनाइएको त सायदै कुनै टोल होला । सशस्त्र द्वन्द्वकालमा पुल भत्काउन सजिलो थियो । अहिले तिनै पुल बन्न नसक्दा कहिले नदीमा मान्छे खस्छन्, कहिले खच्चड । यस्तो अवस्थामा गाउँ बनाउने कसरी होला !
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा,
हाल : भक्तपुर

प्रकाशित : जेष्ठ ३०, २०८१ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×