२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निरीह किसानलाई कहिलेसम्म चुसिरहने ?

पाठक पत्र

पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान झन्डै २६ प्रतिशत छ । करिब २ दशकदेखि कृषि उत्पादनले सर्वत्र निराशा थपेको यथार्थ कसैबाट लुकेको छैन । कृषकले गाउँ छाड्न थालेपछि उत्पादन घट्दै गएको दुःखद स्थिति एकातिर छ भने अर्कातिर सत्ताधारीले कृषिको व्यवसायीकरण, औद्योगिकीकरण भनेर टिठलाग्दो सुगारटाई गरिरहेको अवस्था छ ।

प्रधानमन्त्री तहको कुरा गरौं– पदमा रहँदा र हटेपछि पनि पूर्वप्रधानमन्त्री मरिचमानसिं श्रेष्ठ साधारण जीवनशैली अँगाल्दै कुखुरापालन व्यवसायमा रमाएको यथार्थलाई नेपालका निम्ति अद्वितीय सन्दर्भ मान्नुपर्छ । उनीबाहेक कुनै प्रधानमन्त्री, शीर्ष नेतृत्वले कृषि, पशुपालनलाई उत्कृष्ट पेसा बनाएर नमुना प्रस्तुत गरेको देखिएन । उल्टो चर्चित नेताले बाख्रापालनका नाममा करोडौं रुपैयाँ अपचलन गरेको सुनियो ।

अर्थतन्त्रलाई उचाल्ने भन्दै केही राजनीतिज्ञले गाँजा खेतीबारे सञ्चारमाध्यममा बर्बराए पनि पछि त्यत्तिकै सेलाएको प्रसंगले जिम्मेवार नेतृत्व कृषिको उत्थानभन्दा होहल्ला मच्चाउन उद्यत् रहेको देखिन्छ । चौबिसै घण्टा दस नंग्रा खियाएर घोटिने कृषकहरू पाइला–पाइलामा प्रताडित भइरहेका छन् भने गाउँ–गाउँका शासकहरू कृषकको उत्थानभन्दा आफ्नै मोजमज्जामा लिप्त हुने, माथिसम्मको सेटिङमा भ्रष्टाचार गर्न पछि नपर्ने विषय सार्वजनिक भइरहेका छन् ।

धनुषाको जानकी गाउँपालिकामा शासकले दिवंगत व्यक्तिहरूका नाममा वृद्धभत्ता स्वरूप १० करोड रुपैयाँ लट्टीपट्टी पारेको यथार्थ लखनऊ लुटको नमुना होइन र ? यस्ता आततायीले कहिल्यै कृषिको उत्थान गर्दैनन् । यतिबेला शासकीय चरित्रबाट हार खाएका नेपालीहरू अस्ट्रेलिया, न्युजिल्यान्ड, कोरिया, इजरायललगायत देशमा कृषिकर्ममा रमाइरहेका छन् ।

मुलुकभित्र कृषि र पशुपालन पेसालाई उठाउने हो भने ७५३ पालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा नमुना फार्म सञ्चालन गर्न आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममार्फत अभियान थाल्नुपर्छ । कृषकको दुःखकष्ट नबुझी हावाका भरमा कराइरहने नेतृत्वले आफ्नै बलबुतामा नमुना फार्महरू सञ्चालन गरी मुलुक र कृषकको गरिमा बढाउनुपर्छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ ११, २०८१ ०५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x