२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेशमा जग हँसाइ

पाठक पत्र

यतिबेला कुनै देशको राजनीति यति अस्थिर छ भने त्यो हाम्रै देश नेपालको हो । नेपालको राजनीतिलाई यति अस्थिर बनाउने मुख्य पात्र हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

प्रदेशमा जग हँसाइ

प्रचण्ड भनेका सत्ताका पर्याय हुन् । उनको दिमागमा सत्ता प्राप्तिका लागि कसरी उथलपुथल गर्न सकिन्छ भन्ने सोचाइभन्दा अरू केही उब्जिएको पाइँदैन । देशमा एउटै दलको हालीमुहाली हुँदैन । एउटा दलले देशको अवस्था बिगारे उसलाई अरूले रोक्न सक्नुपर्थ्यो तर यहाँको अवस्था फरक भयो । जसले अस्थिरता निम्त्याइरहेको छ, उसैको पछि लागेर अरू राजनीतिक दलले समेत आफ्नो भूमिका बिर्सिए । नेपालका पुराना र स्थापित मुख्य राजनीतिक दलको हैसियतमा रहेका कांग्रेस र एमाले माओवादीकै पिछलग्गु भएर हिँडिदिँदा देशको राजनीति मात्रै होइन, सम्पूर्ण क्षेत्र झन् झन् बिग्रँदै गएको छ ।

माओवादीलाई ठाउँमा ल्याउन कांग्रेस र एमाले मिल्नुको विकल्प देखिँदैन । तर यी दुवै दलले एकपछि अर्को गर्दै माओवादीलाई नै काँध थापिरहँदा प्रचण्डले झन् सानका साथ राज्यलाई राजनीति रंगशालाका रूपमा उपयोग गर्ने अवसर पाइरहेका छन् । पुरातनदेखि नयाँ भनिएका सबै दलले सत्तालाई नै राजनीतिको केन्द्रबिन्दु ठान्ने गरेका छन् र राजनीतिलाई व्यक्तिगत स्वार्थका निम्ति प्रयोग गर्ने माध्यम बनाइएको छ । यसैको उपज हो अहिलेको राजनीतिको यो दुःखद अवस्था ।

अहिले प्रदेशहरूमा जुन भद्रगोल अवस्था देखिएको छ, यो निकै लज्जास्पद छ । केन्द्रको राजनीतिक बाछिटाले जहिलेसम्म प्रदेशमा हानिरहन्छ त्यतिबेलासम्म यस्तो खराब अवस्थाको अन्त्य हुँदैन । गएको फागुन २१ मा केन्द्रमा परिवर्तन भएको राजनीतिक परिस्थितिपछि आजसम्म कुनै पनि प्रदेश सरकारले स्थायित्व प्राप्त गर्न सकेको छैन । कुनै प्रदेशमा जसोतसो मुख्यमन्त्री हुन सफल भए पनि लामो समयसम्म सरकार बन्न सकेको छैन । कुनै प्रदेशसभा विघटनउन्मुख छन् र त्यस्ता प्रदेशमा मध्यावधि निर्वाचनसम्मको सम्भावना देखिएको छ । कुनै प्रदेशमा सर्वोच्च अदालतको नजिरलाई नै पैतालामुनि राखेर सभामुखको दुरुपयोग गरी सरकार गठन गरिएको छ । यस्तो अवस्थामा सातवटा प्रदेशमा सातवटै परिस्थिति सिर्जना भएको छ ।
सुजन देवकोटा, पालुङ्टार–४ गोरखा

संघ र प्रदेशमा सरकार बनाउने र गिराउने खेल अति धेरै भइरहेको छ । नेताहरूले अब यस्तो खेल बन्द गर्नुपर्छ । देशलाई राजनीतिक स्थायित्व दिनुपर्छ । प्रदेशको संरचना देश विकासका लागि हो कि नेता विकासका लागि हो ? केन्द्रमा ठाउँ नपाएका आफ्ना नेतालाई प्रदेशमा स्थान दिएर खुसी पार्ने गरेका दलहरूले एकपटक गम्भीर भएर सोच्नुपर्छ । प्रेदशको राजनीति देश र जनताका लागि हितकर देखिएन ।

संविधानको व्याख्या, अदालतको आदेशसमेत कतिपय मुख्यमन्त्रीले अवज्ञा गरेको पाइएको छ । मुख्यामन्त्री पद जोगाउन जस्तोसुकै सम्झौता गर्न पछि नपरेको देखियो । नेताहरूले प्रदेश केका लागि बनाइयो भन्नेसमेत ख्याल राख्न सकेनन् । केन्द्रमा भद्रगोल, प्रदेशमा भद्रगोल, कहिले आउने देशमा राजनीतिक स्थायित्व ? कम्तीमा मुख्यमन्त्री पाँच वर्ष टिक्ने गरी कुनै प्रबन्ध गरौं न ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख ९, २०८१ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?