कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

त्रिविमा गैरप्राज्ञिक गतिविधि अन्त्य गरौं

पाठक पत्र

त्रिभुवन विश्वविद्यालयले करिब ४ महिनापछि कुलपति प्राप्त गरेको छ । शिक्षाध्यक्ष र रजिस्ट्रार प्राप्त गर्न अझै कति कुर्नुपर्ने हो थाहा छैन । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिविप्रति सबैको आस्था र भरोसा जगाउन आफूले रोजेको टिमको चाहना राख्नुभएको छ ।

नेपालको जेठो विश्वविद्यालय मात्र नभई यसले कुल विद्यार्थी भर्नाको ७८.३६ भार बोकेको छ । २१.६४ विद्यार्थी भार अन्य २० विश्वविद्यालयले लिएको विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकले देखाउँछ । अधिकांश विद्यार्थी भार बहन गरेको विश्वविद्यालयका चुनौतीलाई अवसरमा परिणत गर्नु नवनियुक्त उपकुलपतिको मुख्य कार्यभार हो ।

चारवर्षे कार्यकालमा विश्वविद्यालयप्रति विद्यार्थीलगायत सरोकारवालाको विश्वास जित्न अग्रगामी कदम चाल्नैपर्छ । शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा मात्र हाल धेरै समस्या समाधान हुन सक्छन् । विद्यार्थी पलायन हुने विद्यमान प्रवृत्ति भाषणका भरमा कमी हुँदैन । विश्वविद्यालयको आन्तरिक संरचनामा पनि परिर्वतन गर्नुपर्छ ।

दलीय भागबन्डाका आधारमा त्रिविमा हुने नियुक्तिलाई अन्त्य गरी मेरिटोक्रेसीका आधारमा डिन, क्याम्पस प्रमुख अनुसन्धान केन्द्रहरूमा नियुक्त गरिने कार्य प्रारम्भ गर्नुपर्छ । विद्यार्थीहरूको परीक्षा समयमै हुने र परीक्षाफल २ महिनाभित्र प्रकाशन गर्न सकियो भने मात्र भर्ना वृद्धि दर बढ्न सक्छ ।

चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिने, म्याचिङ गर्ने र भर्ना गर्न लाग्ने ७ महिनाको अवधिलाई कटौती गर्नुपर्छ । आयोगले प्रवेश परीक्षा लिई नतिजा प्रकाशन गर्न र विद्यार्थी भर्नासम्बन्धी प्रक्रियाको जिम्मा सम्बन्धित विश्वविद्यालयलाई दिने हो भने स्वीकृत कोटामा विद्यार्थी संख्या भर्ना हुने र विद्यमान आयोगको झन्झटिलो प्रक्रियाबाट विद्यार्थीले राहत महसुस गरी विदेश पलायन हुने दरमा कमी आउँछ ।

विद्यार्थी तथा प्राध्यापकले पनि विश्वविद्यालय सुधारका लागि उपकुलपतिको प्रयासमा सहयोगी बन्नुपर्छ । विगतमा जस्तो माग गर्ने, प्राध्यापकमाथि आक्रमण गर्ने, कक्षाकोठामा पठनपाठनभन्दा अन्य गतिविधिमा सहभागी हुनेजस्ता गैरप्राज्ञिक गतिविधि विद्यार्थीबाट अन्त्य हुनुपर्छ ।
– जीवनप्रकाश शर्मा, टोखा, काठमाडौं

प्रकाशित : फाल्गुन २२, २०८० ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?