कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सौदाबाजीमा राजनीति यात्रा कहिलेसम्म ?

पाठक पत्र

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूको कामकारबाही चित्तबुझ्दो नभएका र विवादित मन्त्रीलाई फेर्न यसअघि नै संकेत गरिसकेका थिए । उनको यो कदमलाई कांग्रेस सभापति शेरबहादुर र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले साथ नदिएकाले सम्भव भएको थिएन ।

विवादित मन्त्रीका कारण सरकारले आलोचना खेप्नुपरेको छ । अहिले आएर माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि दबाबमा परेका देउवाले दाहाललाई मन्त्रिमण्डल फेर्न आफू तयार रहेको बताएका समाचार आएका छन् ।

माओवादीलाई फकाएर राष्ट्रिय सभा अध्यक्ष आफ्नो हातमा पार्ने दाउमा देउवा देखिन्छन् । अर्कातिर माओवादी आफूसँग टाढिएर एमालेसँग मिल्ला र आफू प्रधानमन्त्री बन्ने बेला अर्काले प्रधानमन्त्री खाला भन्ने देउवालाई डर छ ।

जनताका लागि होइन सत्ताका लागि राजनीति गरेका नेताहरूले देखाउने क्रियाकलाप यस्तै हो । नेतालाई खबरदारी गर्न कोही नभएकाले यिनीहरूको मनोमानी जारी छ । निरीह जनताको आवाज नेताको कानसम्म पुग्न सक्दैन । नेताले जनताको समस्या बुझ्दैनन् ।

कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा गठबन्धन आवश्यक छैन, हामी कठपुतली बन्न हुँदैन भन्दा पनि उनले गठबन्धनको फेर समाउन छाडेका छैनन् । तेस्रो दल भए पनि माओवादी शक्तिकेन्द्रमा पहिलो दल बनेको छ ।

कांग्रेसले साथ नदिए एमाले, एमालेले साथ नदिए काग्रेससँग मिलेर शक्तिकेन्द्रमा हालीमुहाली गर्ने देखिन्छ । सत्ता सौदाबाजीमा नेपालको राजनीति यात्रा अगाडि बढिरहेको छ । यो सौदाबाजीले कहिलेसम्म चलिरहने हो र जनताले कहिलेसम्म धोका पाइरहने हुन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौ

प्रकाशित : फाल्गुन २१, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?