१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

ओलीलाई शेखरको पेचिलो प्रश्न

पाठक पत्र

कांग्रेस नेता शेखर कोइरालाले एमालेको संकल्प यात्रालाई लिएर पेचिलो प्रश्न गरेका छन् ।

आफ्नो पार्टीमा विचारमा विमति राख्ने नेतालाई पनि समेटेर हिँड्ने गरेको तर एमालेमा त्यो संस्कार नभएको उल्लेख गर्दै कोइरालाले एमालेको संकल्प यात्रामा सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावललाई सहभागी नगराएको भनेर प्रश्न गरेका हुन् । यस्तो संस्कार राजनीतिमा राम्रो नभएको उनको टिप्पणी छ । कोइरालाको प्रश्नको उत्तर अब एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने बेला आएको छ । के ओलीसँग चुनावी प्रतिस्पर्धा गर्नु नै रावलको सबैभन्दा ठूलो दोष हो ? त्यही कारण रावललाई संकल्प यात्रामा नबोलाएको र गत चुनावमा सांसदको टिकट नदिएको हो ? पूर्वाग्रहको राजनीति कहिलेसम्म यसरी चल्छ ? यसले पार्टीलाई हित गर्छ कि गर्दैन भन्ने गत चुनावमा देखिसकियो । तर पनि ओलीमा त्यो चेत आउन सकेको छैन ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबका साथ सबका विकास’ भनेर चुनावमा चमत्कार गर्दै गएका छन् तर यता ओली उल्टो यात्रा गर्दै छन् । ओलीको बाटो र पूर्वाग्रही सोचले फाइदा हुँदैन भन्ने कुरा किन एमालेका अन्य नेताहरूले भन्न सक्दैनन् ? अन्य नेताहरूले सत्य बोल्न नसक्दा ओलीमा तानाशाही चरित्र देखिन थालेको छ । १९ दिने संकल्प यात्रामा उनले अन्य पार्टीलाई आरोप लगाएर मात्र हुँदैन, आफूमाथि लागेका आरोपहरूको पनि तथ्यगत रूपमा सफाइ दिन सक्नुपर्छ । अनि मात्र जनता आश्वस्त हुन सक्छन् ।

संकल्प यात्राले प्रचण्ड सरकारका कमीकमजोरीको भन्डाफोर गर्दै आफ्नो संगठन बलियो पार्ने नीति लिएको छ । यात्राको उद्देश्य पूरा हुन्छ/हुँदैन, आगामी दिनमा देखिने नै छ । तथापि यात्रारत नेताहरूको नैतिक पक्ष र सार्वजनिक छविले पनि धेरै कुरामा फरक पार्छ । नेताहरूमा नैतिक पक्ष राम्रो भए सोहीअनुरूप बोलीवचन र भाषण भए, इमानदार छवि भए निश्चय नै यस्ता संकल्प यात्राहरूले संगठनलाई फाइदा पुर्‍याउँछन् । पदप्रतिको आसक्तिले अहिलेका धेरै नेताहरूको नैतिक छवि घूमिल भएको छ । ठूला पार्टीका शीर्ष नेताहरू ७० वर्ष कट्दा पनि युवा पुस्तालाई नेतृत्व सुम्पन चाहँदैनन् । यस्तै कारणले दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको हो । जनताले व्यवस्था परिवर्तन खोजेका छैनन्, मात्र नेताहरूको व्यवहार सुधार होस् भन्ने चाहेका हुन । व्यवहारमा असफल प्रमाणित भएका नेताहरूले जतिसुकै आदर्शका भाषण गरे पनि आम जनताले विश्वास गर्दैनन् ।

गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : मंसिर २४, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?