९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

ग्वार्को चोकमा आउजाउ सास्ती

पाठक पत्र

नेपालमा काम थाल्ने, काम पूरा गर्ने समय पनि तोकिने तर काम सो समयमा नहुने रोग जताततै छ । चाहे त्यो काठमाडौं–निजगढ द्रुतमार्ग होस्, मेलम्ची खानेपानीको लामो कथा होस् वा ग्वार्को चोकमा बन्न लागेको आकाशे पुल किन नहोस् ।

ग्वार्को चोकमा आउजाउ सास्ती

ग्वार्को चोकमा आकाशे पुल बनाउने भनेर सडकको बीचको मूल खण्ड छेकबार गरेर दायाँबायाँका साना सडकबाट मात्र मोटर चलाउन दिइएको एक वर्ष हुन लागिसक्यो । निर्माणको काम भनेको उत्तरतर्फ दुई/तीनवटा पिलरका डन्डीहरू ठडिएका देखिन्छन् । न त फटाफट काम भएको छ, न काम नभएको समयमा सडक प्रयोग गर्न नै दिइएको छ । सर्वसाधारणले साह्रै सास्ती खेपिरहेका छन् ।

गत शनिबारको कुरा हो, हामी कोटेश्वरबाट इमाडोल आउँदै थियौं । बालकुमारी पुल नाघेपछि अलिक अगाडिदेखि मोटरको ताँतीमा दिउँसो २ः०५ मा रोकिनुपर्‍यो । तीन पटकको ताँती खुल्दा बल्ल २ः३७ मा अर्थात् ३२ मिनेट रोकिएर हामी ग्वार्को चोकबाट इमाडोलतर्फ मोडिन पायौं । शनिबार त्यो पनि खुकुलो यातायात हुने समय दिउँसो त त्यस्तो छ भने कार्यालय समय बिहान–बेलुकाको स्थिति के होला ? यातायातमन्त्रीले साइरन नबजाईकन साधारण मोटरमा चढेर दुई/चार पटक हेर्नुपर्‍यो, जतिसक्दो छिटो निर्माण सम्पन्न गराउनुपर्‍यो । दिउँसो निर्बाध यातायात चलाएर रातिमात्र निर्माण गरे के हुन्छ ?

मुरारीविनोद पोखरेल, महालक्ष्मी–४, इमाडोल, ललितपुर

प्रकाशित : मंसिर २४, २०८० ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?