१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

भ्रष्टाचारविरुद्ध खबरदारी

पाठक पत्र

वर्षैपिच्छे भ्रष्टाचारको सूचकांकमा नेपालको नतिजा सुधार हुनुको सट्टा वर्षैपिच्छे खराब भएका प्रतिवेदन सार्वजनिक हुने गरेका छन् । नेपालमा भ्रष्टाचार तल्लो तहसम्म संस्थागत हुँदै सामाजिक रोग नै बनिसकेको छ । राजनीतिक दलहरूले चुनावको बेला ‘सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याउँछौं’ भन्ने नारा लगाए, अहिले सिंहदरबारको भ्रष्टाचार विकेन्द्रीकरण भएर गाउँगाउँ पुगेको देखिएको छ ।

भ्रष्टाचारविरुद्ध खबरदारी

देशलाई स्विट्जरल्यान्ड बनाउँछु भन्नेहरू सत्ताको वरिपरि हुँदा पनि देशले कुनै मुहार फेर्न सकेको देखिँदैन । सुन तस्करी काण्ड र भुटानी शरणार्थी काण्डसम्मका भ्रष्टाचारका शृंखला यो वर्ष पनि पर्दाफास भए । व्यक्तिगत घूस रिसवतदेखि सामूहिक कार्यमा हुने भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, आर्थिक भ्रष्टाचार, व्यवस्थापनमा भ्रष्टाचार, यत्रतत्र सर्वत्र भ्रष्टाचार रहेको अनुभूति जनताले गरिरहेका छन् । समाजमा व्याप्त भ्रष्टाचारले भावी पिँढीलाई समेत पिरोल्ने अवस्था आइसकेको छ ।

नेपालमा सत्ता र शक्तिको आडमा राज्यस्रोत दुरुपयोग गरेर भ्रष्टाचार मौलाइरहेको छ र त्यसको असर सबै क्षेत्रमा परेको हो । गाउँघरमा विकास निर्माणका कामको सुस्तताले पनि भ्रष्टाचारको मात्रा दिनप्रतिदिन बढेको देखिन्छ । जनताले लोकतन्त्रको अनुभूति गर्ने गरी पारदर्शी विकास निर्माणको अपेक्षा गरे पनि जताततै सरकार र सरकारी संयन्त्रप्रति अविश्वास बढ्दो छ । भ्रष्टहरू समाजमा अकूत सम्पत्तिको आडमा भड्किलो सामाजिक व्यवहार गरेर गरिब जनतालाई झन् कमजोर पार्ने प्रयत्न गरिरहेका हुन्छन् ।

अदालतको आदेशले भ्रष्टाचारको मुद्दामा दोषीहरू थुनिने क्रम जारी छ तर सार्वजनिक क्षेत्रमा जवाफदेहिता, पारदर्शिता, विधिको शासन र सूचनाको हकको प्रभावकारिता शून्य छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियारी गरेको भनेर नीति तथा कार्यक्रममा लेख्ने सरकारले दैनिक व्यवहारमा त्यो प्रदर्शन गर्न सकेको छैन । भ्रष्टाचार नियन्त्रणका लागि भएका कानुनी संयन्त्रहरूले राजनीतिक हस्तक्षेपका कारण अपेक्षाकृत प्रभावकारी काम गर्न नसकेको आभास हुन्छ ।

विश्वविद्यालयहरूले पनि भ्रष्टाचारविरुद्ध प्रभावकारी रणनीति तयार पार्न अनुसन्धान र अध्ययन गरी उपयुक्त ज्ञान दिन सकिरहेका छैनन् । भ्रष्टाचारको असर तल्लो तहसम्म सिधै पर्ने भए पनि भ्रष्टाचार नियन्त्रणको पहल माथिल्लो निकायबाट गर्न जरुरी छ । भ्रष्टाचारविरुद्ध नियामक संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘ठूला माछा’ समाउँदैन भन्ने जनश्रुति छ ।

ठूला घटनामा प्रभावकारी कारबाही नहुँदा सानातिना अनियमितताहरू पनि नियन्त्रण हुन असफल भइरहेका छन् । अकूत सम्पत्ति छानबिन नहुँदा भ्रष्टहरूको मनोबल बढिरहेको छ । जनताले लोकतन्त्रमा अपेक्षा गर्ने भनेको सुशासन र विधिको शासन नै हो तर समाजलाई खोक्रो पार्ने भ्रष्टाचारको कडाइका साथ नियन्त्रण गर्न जरुरी छ ।

जानी–जानी राज्य कोषमाथि दोहन गर्ने, नीतिगत भ्रष्टाचारमा लिप्त व्यक्ति पहिचान गरेर सामाजिक बहिष्कारको रणनीति अवलम्बन नगरेसम्म समाजबाट भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणको सम्भव देखिँदैन । भ्रष्टाचारविरुद्ध सबैले खबरदारी गरौं, भ्रष्ट प्रवृत्तिहरूको भण्डाफोर गरौं ।
– नोदनाथ त्रिताल, चौबिसे–३, धनकुटा

प्रकाशित : मंसिर २२, २०८० ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?