१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२०

'इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ खोइ ?

पाठक पत्र

एकताका काठमाडौं महानगरपालिकामा ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ को निकै चर्चा चुलिएको थियो । सडकमा परेका ससाना खाल्टाखुल्टी, ढल निकासका समस्या तत्कालै बनाउने गरी २ वटा सवारीसाधन २४ घण्टा नै महानगरभित्र घुमिरहने बताइएको थियो । त्यो एम्बुलेन्सको तस्बिरसमेत छापाहरूमा देखिएका थिए ।

त्यो कुरा सुन्दा र देख्दा मन निकै प्रफुल्ल भएको थियो । ल अब बाटामा खाल्टाखुल्टी देख्न पर्दैन भनेर दंग परिएको थियो । तर यथार्थमा त्यो एम्बुलेन्स आजसम्म देख्न पाइएन । खोइ कहाँ छ त्यो एम्बुलेन्स, बालेनजी ? कहाँ चलिरहेको छ ?

कि बन्द भइसक्यो ? हालै विश्व सम्पदा मानिएको बौद्ध स्तूप घुम्न आएका एक पर्यटक पेटीमा हिँड्दाहिँड्दै लडे । आफूलाई दुर्घटनामा पार्ने उक्त उबडखाबड पेटी देख्दा ती पर्यटकले कस्तो महसुस गरे होलान् ? बौद्ध क्षेत्र काठामाडौं महानगरअन्तर्गत नै पर्छ भन्ने कुरा बालेनजीलाई थाहा होला नै । भत्काउन मात्र होइन, बनाउन पनि जान्नुपर्छ बालेनजी ।

काठमाडौंका मुख्य सडकहरूभन्दा भित्री सडक गल्लीमा यस्तो समस्या झनै बिकराल छ । उदाहरणका लागि जोरपाटीदेखि टुसाल हुँदै कुमारीगाल–चाबहिल–गौरीघाट जाने बाटो हेरे मात्र पुग्छ, जहाँ प्रत्येक २५ मिटरमा खाल्टाखुल्टी छन् ।

बालेनजीले केही महिनाअघि सिनामंगल र शान्तिनगरको सुकुम्बासी बस्ती हटाउन खोज्दा संघ सरकार तथा प्रहरी प्रशासनले साथ दिएन । त्यसको भोलिपल्ट एउटा विज्ञप्ति प्रकाशन गरेर प्रहरीलाई चेतावनी दिइएको थियो । विज्ञप्तिमा काठमाडौंका २७ ठाउँमा सार्वजनिक जग्गा–बाटो अतिक्रमण गरी प्रहरीले भवन बनाएको उल्लेख थियो ।

त्यसमा प्रहरीले आफैं ती भवन हटाउनुपर्ने अन्यथा महानगरले भत्काइदिने भनेर अल्टिमेटम दिइएको थियो । त्यो अल्टिमेटम कहाँ पुग्यो ? सबैभन्दा ठूलो अतिक्रमण बौद्ध प्रहरी भवनले गरेको छ । तर बालेनजीको चस्माले त्यो भवनले गरेको अतिक्रमणलाई देखेको छैन । बालेनजी, महानगरका सबै वडा घुम्नोस् ।

त्यसपछि अतिक्रमण र सडकका खाल्टाखुल्टी देख्नुहुनेछ । हो, तपाईंले गरेका कतिपय काम भने राम्रा छन् । तर सार्वजनिक जग्गा अतिक्रमण र खाल्टाखुल्टीमा पनि दृष्टि पर्न आवश्यक छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : मंसिर २२, २०८० ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?