१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२०

वैदेशिक रोजगारीका अमूक गन्तव्यहरू

पाठक पत्र

परिवारको जिम्मेवारी वहन गरेका धेरै अभिभावकलाई खानपान, लत्ताकपडादेखि, शिक्षा, स्वास्थ्योपचारको व्यवस्था मिलाउन धौ–धौ परिरहेको छ । पुरुषले मात्र पारिवारिक बोझ धान्न कठिन हुँदै गएपछि महिलाहरू पनि आफ्ना लालाबाला, परिवारको माया त्यागेर वैदेशिक रोजगारीमा जान बाध्य छन् । अभिभावकको दुःखपीडा देखेर मन विदीर्ण नहुने केटाकेटी कोही देखिँदैनन् । यसबाट बालबालिकाको मनमस्तिष्क खलबलिन थालेको छ ।

उनीहरूले मुलुकभित्र भविष्य देख्न छाडेका छन्, यहाँ रोजगारी पाउने आशा त्यागेका छन् । घरभित्रको दुःखपीडा भोगेका, स्वदेशमा सबैतिर अन्धकार देखेका बालबालिका १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै विदेशतिर जाने गरेको यथार्थ नदेख्ने कोही छैन । गन्तव्य मुलुकबारे खास जानकारी नलिई जानेहरू पढाइको तनावका साथै अदक्ष काम गर्न बाध्य हुने गर्छन् ।

चोर बाटोबाट विदेश पुग्नेहरूको घुइँचो पनि थामिनसक्नु बन्दै गएको छ भने दलालको चंगुलबाट आफूले रोजेको भन्दा अर्कै ठाउँमा पुर्‍याइएका, म्यानपावर कम्पनीबाट ठगिएका, अलपत्र पारिएका व्यक्तिहरूको अवस्था अरू दयनीय बनेको पाइन्छ । सरकारी अकर्मण्यताका कारण ‘भिजिट भिसा’ को आवरणमा विदेश पलायन हुनेहरूले मुलुकको बदनाम गरिरहेका छन्, पठाउने संस्थाहरूले ब्रह्मलुट मच्चाइरहेका छन् ।

विदेश जाने मौका पाएका खेलाडी, कलाकार, कर्मचारी उतै लुकेर बस्ने क्रम बढ्दो छ । परिवार धान्न ज्यानको बाजी राखेर जोखिमयुक्त काममा संलग्न हुनेहरूको संख्या गनेर साध्य छैन । कूटनीतिक असफलताका कारण हमासले विपिन जोशीलाई बन्धक बनाएको, आर्थिक अभावले छटपटिँदै रुसी सेनामा भर्ना हुनेहरूको पीडा असह्य बनेको, आगोको भुंग्रोमा हाम फाल्दा ६ जनाको मृत्यु भइसकेको, दलालको चंगुलमा फसेर हजारौं युवा गन्तव्यहीन बन्दै युरोपमा भौंतारिनुपरेको दुःखद् अवस्था छ ।

सरकारले देशभित्र रोजगारी सिर्जना गरी विदेशमा छटपटाउनेहरूको दुःखपीडा कम गर्ने कहिले ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : मंसिर २२, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?