एमालेको १ हजार ७ सय ७९ किलोमिटरको संकल्प यात्रा बैतडीको झुलाघाटमा बिहीबार सुरु भयो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ को नारासहित सुरु गरिएको १९ दिने यात्राले प्रचण्ड सरकारको कमीकमजोरीको भण्डाफोर गर्दै आफ्नो संगठन बलियो पार्ने नीति लिएको छ ।
यात्राको उद्देश्य कति पूरा हुन्छन्, आगामी दिनमा देखिने नै छ । तथापि यात्राको उद्देश्यअनुरूप यात्रारत नेताहरूको नैतिक पक्ष र सार्वजानिक छविले पनि धेरै कुरामा फरक पार्छ । नेताहरूमा नैतिक पक्ष राम्रो भए, सोहीअनुरूप बोलीवचन र भाषण भए, इमान्दार छवि भए निश्चय नै यस्ता संकल्प यात्राहरूले संगठनलाई फाइदा पुर्याउँछ ।
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता त्यागी नेताहरूले २०४२ सालमा सत्याग्रह थाल्दा जनताले पनि साथ दिएका थिए । २०४६ सालको आन्दोलन पनि गणेशमानको आह्वानले सफल भएको थियो । गणेशमानले पाएको प्रधानमन्त्री पद पनि आफूले नलिएर कृष्णप्रसाद भट्टराईलाई सुम्पिदिएका थिए । आज केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पदलाई म्युजिकल चेयर बनाइदिएका छन् । पदप्रतिको आशक्तिले अहिलेका धेरै नेताहरूको नैतिक छवि घूमिल भएको छ ।
७० वर्ष कट्दा पनि ठूला पार्टीका शीर्ष नेताहरू युवा पुस्तालाई नेतृत्व सुम्पन चाहँदैनन् । यस्तै कारणले दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको हो । व्यवहारमा असफल प्रमाणित भएका नेताहरूले जतिसुकै आदर्शका भाषण गरे पनि आम जनताको विश्वास जित्न सक्दैनन् । नेताहरूको नैतिक पक्ष राम्रो भए मात्र जनताले आवाज सुन्छन् र यस्ता संकल्प यात्राहरूले सफलता चुम्छन् ।
संकल्प यात्रा शुभारम्भ गर्नु ठीक एक साताअघि एमाले अध्यक्ष ओलीले पर्सा जिल्लामा पुगी विवादास्पद छविका पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई रातो टीका लगाई एमालेमा प्रवेश गराए । पप्पु तिनै ठेकेदार हुन्, जसले दर्जनौं ठूला योजनाको ठेक्का लिई अलपत्र पारेर कालो सूचीमा छन् । यस्ता पात्रलाई रातो कार्पेट बिछ्याउँदा एमालेको छवि राम्रो हुन्छ ओलीजी ? कि पप्पुको पैसाले पार्टी चलाउने योजना बुनेर उनलाई रातो कार्पेट बिछ्याइएको हो ?
संकल्प यात्रामा यसको जवाफ दिनुहोला । रौनियार सुरुमा कांग्रेस थिए, पछि उपेन्द्र यादवको पार्टीमा छिरेर सांसद बने, अहिले एमालेमा प्रवेश गरे । ओलीले पप्पुलाई मात्र होइन, पर्सा जिल्लामा वन तस्करी गरी ९ महिना कारागार बसेका माओवादी नेता जालिम मियाँलाई पनि एमालेमा प्रवेश गराई सांसदको टिकट दिएका थिए । उनी अहिलेका उद्योग वाणिज्यमन्त्री रमेश रिजालबाट पराजित हुन पुगे ।
उता २०७२ सालमा हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीलाई २०७९ मा सांसदको टिकट दिए । तर भीम रावल र घनश्याम भुसाल जस्ता बेदाग नेताहरूलाई टिकट नै नदिएर प्रतिशोध साधें । यस्तो तालले एमालेले २०८४ मा बहुमत ल्याउँछ ? किन ओलीको खराब कामप्रति पार्टीभित्र अन्य नेताहरूले विरोध गर्दैनन् ?
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं