१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राज्यको बेवास्ताले सीमा नाघ्यो

पाठक पत्र

रुकुम पश्चिम, जाजरकोटका भूकम्प पीडितप्रति राज्यको बेवास्ताले सीमा नाघेको देख्दा नरमाइलो महसुस भएको छ । यति लामो समय व्यतीत भइसक्दा पनि आवश्यक राहत उपलब्ध गराउन नसक्नु भनेको तीनै तहको सरकार निकम्मा सावित हुनु हो ।

राज्यको बेवास्ताले सीमा नाघ्यो

पीडितहरूलाई यही अवस्थामा पुर्‍याउनु थियो भने भूकम्प गएलगत्तै ठाउँठाउँका ठूलाबडा भनिएका नेता र शासकहरूको लावालस्करको जात्रा गर्नु, हेलिकोप्टरले त्रिपाल र धूलो–पत्कर उडाउनुको के अर्थ भयो ? असल शासन भनेको हल्लाको खेती र तडकभडक हो ?

उही बेलादेखि जवाफदेही तथा पारदर्शीपूर्ण ढंगले गृहकार्य गरी समयमै राज्यको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने होइन ? घाइते र पीडितलाई भुसुक्कै बिर्सिएर सत्तास्वाद र कुर्सीको भागबन्डामा मात्र रमाएर बस्न मिल्छ ?

कठ्यांग्रिने जाडोका दिनहरू नजिकिएको र गर्भवती, सुत्केरी, बालबालिका तथा रोगी वृद्धवृद्धा चिसोले थला पर्दै मृत्युको मुखमा पर्न थालेको समाचार सुन्दा, देख्दा सिंहदरबारको घुम्ने सिंहासनमा बस्नेको मन र मुटु च्वास्स घोच्नुपर्ने होइन ?

असीम पीडा र दुःखले मुलुकवासी रोएर बसेको समयमा सिंगो राज्य एक जना व्यक्तिको पछि लागेर देशमा अनावश्यक अस्थिरताको खेतीमा मलजल गरेर बसिरहनु सुहाएन । राज्यले तत्काल सबै तह र तप्काबाट भूकम्प प्रभावित क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाउन पटक्कै ढिला नगरोस् ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

‘५२ हजार घरमा क्ष्।ति, बने ५ सय टहरा’ शीर्षकको समाचारमा भूकम्पपीडितका लागि निर्मित टहराको संख्या न्यून हुँदा चिसोमा सकस बढ्दै गएको उल्लेख छ । चिसोकै कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको दुःखद अवस्था छ ।

अधिकांश पीडित पालमुनि कठ्यांग्रिएर बस्नु परेको छ । रात छिप्पिँदै गएपछि चिसोले बढी सताउँदा वृद्धवृद्धा, सुत्केरी महिला, केटाकेटीलाई गाह्रो हुने गरेको छ । ठन्डीको प्रभाव भयावह बनिरहँदासमेत उनीहरूलाई कहिलेसम्म टहरामा सारिने भन्ने टुंगो छैन । हुन त विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्ति विशेषबाट अस्थायी टहरा बनिरहेका पनि छन् तर तिनीहरू पर्याप्त छैनन् ।

यता सरकारी स्तरबाट ठोस काम भएको देखिँदैन । यतिबेला जाजरकोटको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ । उच्च पहाडी क्षेत्रमा सिरेटो चल्ने र हिउँदे वर्षासँगै हिउँपर्ने सम्भावना पनि छ । त्यति बेला भूकम्पपीडितको जनजीवन थप कष्टकर बन्ने निश्चित छ ।

यस्तो भयावह स्थितिको व्यवस्थापन गर्न साना–ठूला राजनीतिक दलका संयन्त्रलाई सक्रिय बनाई गुन्द्री, सुकुल, राडीपाखी, कम्बल, स्लिपिङ ब्याग अविलम्ब वितरण गर्न आवश्यक छ । त्रिपाल, टहराबाहिर मुढा बालेर आगो ताप्ने व्यवस्था मिलाउनुपर्छ । नेताहरूले वस्तुस्थितिको लेखाजोखा गरी ठूला भाषण गर्दैमा भूकम्पपीडितको दुःखकष्ट कम हुन सक्दैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : मंसिर १४, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?