९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

प्रचण्ड–बाबुराम एकतामा अलमल

पाठक पत्र

दसवर्षे सशस्त्र युद्धका मुख्य योजनाकार बाबुराम भट्टराई र त्यसको नेतृत्वकर्ता प्रचण्डले अलग–अलग राजनीतिक दल नेतृत्व गरेको आठ वर्ष बितिसकेको छ । संविधानसभाबाट संविधान जारी भइसकेपछि एउटा मिसन पूरा भएको र अब नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भन्ने आफ्नो लाइनलाई प्रचण्डले आत्मसात् गर्न नसकेको भन्ने बुझाइका कारण बाबुराम बेग्लै बाटामा हिँडेका थिए ।

बाबुरामलाई निकाल्न पाए पार्टीमा एकलौटी गर्न पाइन्छ र राजनीतिको शिखरमा पुगिन्छ भन्ने प्रचण्डको पनि सोचाइ थियो होला । करिब तीन दशकको राजनीतिक सहयात्रा छुटाएर अलग–अलग बाटामा हिँडे पनि दुवै नेताले सोचेजस्तो सफलता प्राप्त गर्न सकेनन् । उनीहरूले पुनः एक ठाउँमा हुनुपर्ने महसुस गरेको वर्ष दिन नाघिसक्यो तर पनि यी दुईलाई एउटै पार्टीमा जोड्ने रसायन अझै फेला पर्न सकेको छैन ।

दुई नेताले गएको वर्ष भएको आम निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । चुनावमा प्रचण्डले बाबुरामको आधार क्षेत्र गोरखा–२ मा बाजी मारे । लगत्तै प्रचण्ड प्रधानमन्त्री पनि भए । खोलो तरेर लौरो बिर्सने स्वभावका प्रचण्डलाई त्यसपछि खोला तार्ने बाबुरामको पार्टी र लौरो बनेका बाबुरामको कतै कुनै आवश्यक परेको महसुस नै भएन ।

यसका कारण हो, बाबुरामको पार्टीबाट संघ र प्रदेशमा गरेर एक/एक जना मात्र सांसद हुनु । कोशी प्रदेशमा जस्तो एउटै सांसदका कारणले सरकार ढाल्ने र निर्माण गर्ने भूमिका केन्द्र वा वाग्मती प्रदेशमा हुन्थ्यो भने तिनै बाबुराम प्रचण्डको हितैसी सहयात्री बनिसक्ने थिए ।


प्रचण्डले अहिले ३२ सिट भएर पनि सरकारको नेतृत्व गर्न पाएका छन् । बाबुरामसँग मिल्दा र नमिल्दा उनको प्रधानमन्त्रीको कुर्सीमा कुनै असर पर्दैन । प्रचण्डले पार्टी एकतामा चासो नदिनुको मुख्य कारण नै यही हो । समाजवादी मोर्चामा बाबुरामलाई पन्छाएर उपेन्द्र यादवलाई भित्र्याएका प्रचण्डलाई सरकार टिकाउन उनै यादवको भूमिका महत्त्वपूर्ण छ ।

बाबुरामलाई समाजवादी मोर्चामा ल्याउँदा वा उनको पार्टीसँग पार्टी एकीकरण हुँदा यादव रुष्ट हुने हुन् कि भन्ने भय प्रचण्डमा देखिन्छ । आगामी निर्वाचनमा पनि उनी सक्रिय राजनीतिमै रहिरहे र कुनै क्षेत्रबाट निर्वाचनमा होमिए भने विभिन्न किसिमका मान्छे र पार्टीको आवश्यक पर्छ । त्योभन्दा अगाडि प्रचण्ड र बाबुरामको मिलन सहज हुने पनि देखिँदैन ।

अहिलेसम्मको अवस्थामा कम्युनिस्ट सिद्धान्त छाडेका बाबुरामलाई कम्युनिस्ट नामकै पार्टीमा जान अप्ठेरो लाग्नु र पार्टीको नामबाट कम्युनिस्ट हटाउन प्रचण्डलाई असहज हुनु पार्टी एकतामा अवरोध सिर्जना गर्ने कारण बनिरहेको देखिन्छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : मंसिर १४, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?