९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

नेताज्यू, अब त चेत खुल्ला कि ?

पाठक पत्र

गणतन्त्र स्थापना हुँदा नयाँ नेपालको परिकल्पना गरिएको थियो । सबै दलका नेताहरूले आफू सच्चिने र एकमतका साथ देश निर्माणमा लाग्ने कसम खाएका थिए । तर सबै वाचालाई भुलेर नेताहरू सत्ताप्राप्तिमा मात्र केन्द्रित भए । सत्तामोहका कारण देशमा विकास निर्माण र समृद्धि त भएन नै बरु व्यापक वितृष्णा उत्पन्न भयो ।

हुन पनि देशमा बेथितिले यति सीमा नाघिसकेको छ कि केही बोल्न र लेख्न पनि जरुरी छैन । केही समययता जेजस्ता दृश्य परिदृश्य देखिइरहेका छन्, ती आफैं प्रमाण हुन् ।

नेताहरूको स्वार्थीपन, पदलोलुपता, भ्रष्टाचार, दुराचार र बेथितिका कारण अहिले देश चरम आर्थिक अभावमा डुबिरहेको कुरा कतै छिपेको छैन । यसबीचमा कुनै उल्लेखनीय विकास, निर्माण र समृद्धि प्राप्त भएको छैन । देशबाट ठूलो जनशक्ति शिक्षा र रोजगारीका लागि विदेशिनु परिरहेको छ ।

अहिले जनता यतिसम्म वाक्क छन् कि कसैले जनताको पीडाको सामान्य आवाज मात्र बोलिदिए पनि उसैलाई साथ, सहयोग र समर्थन गर्छन् । अझै पनि नेताहरूको चेत खुलेन भने अब नेपालमा तेस्रो शक्तिको उदय हुने सुनिश्चित छ, जुन शक्तिले तत्कालै ठूलै परिवर्तन ल्याउला–नल्याउला तर व्यवस्थामाथि निरन्तर प्रहार गर्नेछ । त्यसकारण सबै राजनीतिककर्मी आजैदेखि सचेत हुनुपर्छ, काम र व्यवहार सच्याउनुपर्छ ।
– नरनाथ पाण्डे, कावासोती–८, नवलपुर

प्रकाशित : मंसिर १४, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?