कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सवारी नियमन र लिलामी

पाठक पत्र

हिजो आज कतिपय सवारीसाधनमा थप बत्ती जडान गरेको देख्न सकिन्छ । कम्पनीबाटै बनेर आएको बत्तीले भन्दा पछि थपिएको बत्तीले विपरीत दिशाबाट आएकालाई सकस बनाइदिने गर्छ । कतिको ‘ब्रेक लाइट’ वा ‘साइड लाइट’ बल्दैन वा साँझपख पनि बत्ती बल्दैन वा नबालेरै हिँड्छन् ।

सवारी नियमन र लिलामी

तिनका लागि पनि कारबाही गर्ने व्यवस्था होस् । यसबाहेक जुनसुकै सवारीका लागि पनि माथि उल्लिखित न्यूनतम जाँच पार गरेपछि मात्र नवीकरण हुने व्यवस्था होस् । या त कम्पनीबाट बनेर आएका बाहेक सामान्य स्वरूप केही थपघट गर्न मिल्नेसम्म प्राविधिकले जाँच गरेर दिए थप शुल्क लिएर त्यसो गर्न पाइने व्यवस्था होस् । त्यसको विवरण सवारीधनी पुर्जा (ब्लुबुक) मै उल्लेख गरियोस् ।

अझ ‘इम्बोस्ड नम्बर’ को बहुउपयोग हुँदै गर्दा यसको भाषामै किचलो भयो । खासमा नेपालीमै राखे पनि के नै बित्यास हुने थियो र ? के संसारमा सबैले अंग्रेजीमा मात्र राखे होलान् त ? ट्राफिक वा प्रहरी कार्यालय परिसरमा वर्षौंदेखि बेवारिस भएका सवारीसाधनको छिनोफानो गर्न पहल होस् । कार्यालय परिसर हेर्दा पनि कुनै ग्यारेज वा कवाडी खाना जस्तो लाग्ने नहोस् ।

सार्वजनिक सूचना गरेर मानौं ३५ दिनभित्र लिन आउनु भन्ने, नभए लिलाम हुने व्यवस्था होस् । लिलाम पनि हुन नसकेकाको हकमा कवाडीमा बिक्री गरेर भए पनि राजस्व जम्मा होस् । यातायात व्यवस्था ऐनमा ५ वर्षभन्दा बढी नवीकरण नभएकाको सबै विवरण विभागको ‘वेबसाइट’मा राखिदिन वा पत्रिकामा बाबुको र सवारीधनीको नाम, ठेगानासहित उल्लेख गरेर सूचना निकाल्न सकिन्छ ।

समयमा नवीकरण नगर्नेको हकमा अन्य सरकारी सेवा लिन बन्देज हुन सक्ने भनेमा सबैले बेलैमा नवीकरण गर्छन् । साधन चलाउन नसकिनेका हकमा यस आर्थिक वर्षसम्मको जरिवाना छुट दिएर दर्ता खारेजी सुविधा वा उस्तै प्रकृतिको सवारी लिन सकिने वा दर्ता नम्बर नदोहोरिने गरी नयाँ सवारी दर्ता सुविधा दिन सके यो भद्रगोल अन्त्य हुने थियो ।

पछिल्लो पटक सडकमा जडान गरिएका अनेक खाले ‘क्यामरा’ लाई पहिलो चरणमा चक्रपथभित्र लागू गर्ने, मुख्य–मुख्य सहर बजारमा जोड दिने वा ‘सीसीटीभी क्यामरा’ लाई यथासम्भव व्यापक बनाउँदै लापरबाही गर्नेको ‘रेकर्ड’ भएको ‘फुटेज’ का आधारमा कारबाहीको भागीदार बनाउन सके मनपरी कम भई दुर्घटनामा कमी आउन सक्छ । मापसे वा लापसे जाँच पनि मध्यरात होस् या बिहान जुनसुकै ठाउँमा जहिले पनि हुन सक्ने व्यवस्था होस् ।
– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

प्रकाशित : मंसिर १३, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?