मंसिर ७ र प्रशासनको दायित्व

यतिखेर चिया पसलदेखि हरेक चोक गल्लीमा मंसिर ७ को चर्चा निकै चलेको छ, चलाइएको छ । एकातिर दुर्गा प्रसाईं र उनका समर्थक अनि अर्कोतिर एमालेको भ्रातृ संस्था युवा संघका कार्यकर्ताको नेतृत्व गर्दै महेश बस्नेतहरू ।
दुवैले थलो एउटै तोक्दा झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले निशेधाज्ञा लगाउनुपरेको छ । शान्तिप्रिय नेपाली कहिल्यै अशान्ति र दंगा फसाद चाहँदैनन् । यो कुरा बेलैमा सबैले बुझ्नु राम्रो हुन्छ । मान्छेको मन जित्ने भनेको विचारले हो न कि दंगा फसाद र झडपले । विचारको प्रतिनिधित्व ब्यालेटले गर्छ ।
आम मानिसको के चाहना हो भन्ने कुरा २०७९ मंसिर ४ मा भएको ताजा जनादेशले प्रस्ट पारिसक्यो । अबको चार वर्षपछि फेरि नेपाली जनताको अभिमत बुझने दिन आउँछ । त्यतिन्जेल दुवै पक्षले संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ । जवाफ प्रतिकारबाट होइन, कामबाट दिन सक्नुपर्छर् । सरकारको सेवा प्रवाहको पाटो कमजोर हुँदा आज राजतन्त्रवादीले जनतालाई आफ्नो पक्षमा तान्ने बाटो पाएका छन् ।
अहिलेसम्म पनि नेपालमा राजावादीहरू भनेको उही राप्रपाले पाएको ५ प्रतिशत मात्र हो । तर सरकारको कार्यसम्पादन राम्रो नहुँदा सरकार र गणतन्त्रवादीहरू रक्षात्मक हुने अवस्था आएको छ । यो किन र कसको कारणले हुन पुग्यो ? त्यसको विश्लेषण गर्दै तुरुन्त काममा सुधार ल्याउनुपर्छ । कसको पक्षमा कति जनमत र जनलहर छ भन्ने कुरा एउटा भीडबाट होइन, ताजा जनमतबाट पुष्टि हुन्छ । स्याल हुइयाँ गरेर केही हुँदैन ।
देश विकासभन्दा पनि व्यक्तिगत विकासमा दलका केही नेता लाग्दा र कतिपय नेताको भ्रष्ट चरित्र देखिँदा जनता निराश र आक्रोशित भएका छन् । ठूला दलका नेताले प्रधानमन्त्री पदलाई म्युजिकल चेयर बनाएर नचाएको देख्दा पनि आम जनतामा वितृष्णा छाउन पुगेको छ । नेतृत्वले पदको आशक्ति र भ्रष्ट चरित्र छोडे जनआक्रोश आफैं मत्थर हुन सक्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं
