सरकार आफैं व्यवस्थाको विरोधी हो ?

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि खतरा बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले गएको कात्तिक २१ मा १२ बुँदे सम्झौताका पक्षधर दलहरूको बैठक बोलाए । बैठकमा प्रचण्डले अहिलेको व्यवस्थामाथि विभिन्न कोणबाट फाट्टफुट्ट प्रहार हुन थालेको भनेर ब्रिफिङ गरे । वर्तमान व्यवस्थाको मुख्य योजनाकार दल माओवादी केन्द्रले नै यतिबेला सरकारको नेतृत्व गरिरहेको छ ।
वर्तमान व्यवस्था भनेको लोकतन्त्र/गणतन्त्र हो । यस्तो शासन व्यवस्थामा नागरिकले स्वतन्त्र रूपमा बोल्न, लेख्न पाउने भन्ने हुन्छ । तर यही व्यवस्था भित्र्याएको दल आफैंले सत्ताको हालिमुहाली गरिरहेको अवस्थामा नागरिकको वाक् स्वतन्त्रताको एउटा माध्यम सामाजिक सञ्जालको टिकटकमाथि प्रतिबन्ध लगाएर यही व्यवस्थाको विरोध जनाएको बुझिन्छ ।
विकसित प्रविधिलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने अवस्थामा त्यस्ता प्रविधिमाथि नै प्रतिबन्ध लगाउनु समयानुकूल हो भन्ने देखिँदैन । बरु यो त पानी धमिलो भयो भनेर मुहान नै थुन्न खोजेजस्तो देखिन्छ ।टिकटकलाई सबै व्यक्तिले नकारात्मक रूपमा मात्रै प्रयोग गरेको पनि देखिँदैन । केही व्यक्तिले त्यस्ता उच्छृङ्खल गतिविधि गरे भन्दैमा त्यो माध्यमलाई नै निस्तेज पार्न खोज्नु कायरताको पराकाष्ठा हो ।
सरकारले अहिले टिकटकमाथि प्रतिबन्ध लगाउनुलाई जुन कारण देखाएको छ वास्तवमा त्यो वर्तमान सरकारको देखाउने दाँतजस्तो मात्र भएको हो । यसलाई बन्देज गर्नुको मुख्य कारण वर्तमानमा उदाएका नयाँ राजनीतिक दलहरूको गतिविधि हो भन्ने लाग्छ । पुराना राजनीतिक दलभन्दा नयाँ दल सूचना र प्रविधिमा अगाडि देखिएको छन् ।
उनीहहरू आफ्ना काम–कुरालाई जनतासामु तत्कालै पुर्याउन सफल देखिएका छन् । यसबाट जनताको मन जित्न पनि सफल हुँदै गएका छन् । टिकटक मात्र विकृति फैलाउने माध्यम होइन । सरकारले कि सामाजिक सञ्जालका सबै माध्यम माथि प्रतिबन्ध लगाउनुपर्छ, होइन भने यो एउटालाई मात्र बन्देज गर्नु हुँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
